वसन्त कुँवर सेवा निवृत्त हुँदै, नयाँ आईजीपीबारे निर्णय गर्न बोलाइयो क्याबिनेट

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर आजदेखि सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् ।

आईजीपी नियुक्त गर्नुअघि नै कुँवरसहितका उच्च प्रहरी अधिकारीहरू अवकाश हुने भएपछि अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले नेपाल प्रहरीको ३१औं आईजीपी नियुक्त गर्ने निर्णय लिनेछ, जसले आज राति १२ बजेबाट पदभार ग्रहण गर्ने बताइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले यही क्रममा अवकाश हुने प्रहरी अधिकृतहरूको बिदाइ कार्यक्रम तय गरेको छ । प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार, सेवा अवधि ३० वर्ष पूरा गरेका आईजीपी कुवरसहितका अधिकृतहरूको औपचारिक बिदाइ आजै हुनेछ ।

नयाँ आईजीपीको स्वागत भने सम्भवतः भोलि गरिनेछ । मन्त्रिपरिषद्ले नियुक्त गरेको नयाँ आईजीपीले दर्ज्यानी चिह्न (फुली) लगाएपछि मात्र पदभार सम्हाल्ने परम्परा रहिआएको छ ।

बहालवाला आईजीपी कुवरको अवकाशपछि वरिष्ठतम एआईजी दीपक थापाले कार्यवाहक आईजीपीको जिम्मेवारी सम्हाल्नेछन् । सम्भवतः मन्त्रिपरिषद्ले उनलाई नै नयाँ आईजीपीका रूपमा नियुक्त गर्ने अनुमान गरिएको छ ।

यसैगरी, एआईजीहरू टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराई तथा डीआईजीहरू ध्रुवबहादुर रावल, गणेश चन्द, र ध्रुव राउत पनि आजै अवकाश हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *