बाजुरामा गाईमाथि क्रूर व्यवहार : प्रशासनले भन्यो- ‘दोषीमाथि कारबाही हुन्छ’

काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-६ मा गाईमाथि गरिएको अमानवीय व्यवहार अहिले चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा स्थानीयबासीको एक समूहले गाईलाई कुटपिट गर्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेको देखिन्छ । यो घटनापछि प्रशासनले तत्काल प्रहरी परिचालन गर्दै संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालयले संलग्न स्थानीयबासीलाई नियन्त्रणमा लिन आदेश दिएको छ । प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले वडाध्यक्षसहित घटनामा संलग्नहरूलाई सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी गराए । प्रशासनले दोषीहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ । ‘गाईलाई कुटपिट गर्दै नदी पारि फ्याँक्ने कार्य अमानवीय हो । यसलाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन । स्थानीय प्रशासनले दोषीहरूमाथि छानबिन गरी कारबाही गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी पाध्याले भने ।

घटनाबारे वडाध्यक्ष धनबहादुर सार्कीले प्रस्ट पार्दै भने अनुसार, यो गाउँमा वर्षौंदेखि चलिआएको परम्परा हो । कसैको मृत्यु हुँदा ‘गौदान’ गर्ने चलन रहेको र गौदान गरिएको गाईलाई कर्णाली नदी पारि लैजाने परम्परा रहिआएको उनले बताए । तर, आधुनिक समयमा आएर यस्तो परम्परा विवादास्पद बन्न पुगेको हो ।

विशेष गरी गाईलाई निर्दयतापूर्वक कुटपिट गर्ने दृश्यले आम जनमानसमा आक्रोश फैलाएको छ । यसअघि पनि नेपालका विभिन्न स्थानमा परम्पराका नाममा जनावरमाथि क्रूर व्यवहार गरिँदै आएको पाइन्छ । पशु अधिकारकर्मीहरूले भने यस्तो हिंसात्मक अभ्यास तत्काल रोक्नुपर्ने माग राखेका छन् ।

स्थानीय प्रशासनले घटनाका दोषीहरूलाई सोधपुछका लागि झिकाएको भए पनि, घटनामा पीडित बनेको गाई सुरक्षित रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार कुटपिटपछि गाई पुनः गाउँमै फर्किएको छ । ‘गाई अहिले सुरक्षित छ । तर, यसरी राष्ट्रिय जनावरमाथि अमानवीय व्यवहार गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो । यसबारे प्रशासनले कठोर निर्णय लिनेछ,’ पाध्याले थपे ।

यो घटनापछि सामाजिक सञ्जालमा व्यापक विरोध सुरु भएको छ । धेरैले  सरकारलाई पशु अधिकार सुनिश्चित गर्न र दोषीलाई कडा सजाय दिन माग गरिरहेका छन् । नेपालमा गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्मान गरिन्छ । गाईमाथि हिंसा गर्नु कानुनी रूपमा गम्भीर अपराध मानिन्छ ।

प्रशासनले घटनामा संलग्न स्थानीयबासीहरूसँग छलफल गर्ने र आवश्यक निर्णय लिने जनाएको छ । कानुनी कारबाही हुने या परम्परागत अभ्यासलाई ध्यानमा राखेर नरम निर्णय गरिने भन्ने विषय प्रशासनको अन्तिम निर्णयपछि मात्र स्पष्ट हुनेछ ।

नेपालमा परम्परागत संस्कार र आधुनिक कानुनी व्यवस्था बीचको द्वन्द्व बेला-बेलामा देखिने गरेको छ । बाजुराको यो घटना पनि यस्तै एक उदाहरण हो, जसमा स्थानीय परम्पराको आडमा जनावरमाथि हिंसा भएको देखिन्छ । प्रशासनले यसलाई गम्भीर रूपमा लिएको छ र दोषीहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ ।

प्रतिक्रिया

2 thoughts on “बाजुरामा गाईमाथि क्रूर व्यवहार : प्रशासनले भन्यो- ‘दोषीमाथि कारबाही हुन्छ’

  1. मुझे खेद है की गौ माता के ऊपर इस प्रकार की कुरुरता तथा मारपीट बेकसूर गौ माता को पत्थरों से मारना और पानी में डुबो देना मानवता को शर्मसार है ऐसे लोगों को शक्ति से शक्ति सजा होनी चाहिए मैं उम्मीद करता हूं और मुझे खुशी हो रही है की नेपाल सरकार ने ऐसे दरिंदों के ऊपर ठोस कदम उठाया है धन्यवाद

  2. धेरै राम्रो राष्ट्रिय जनावरलाई यस्तो दुर्व्यवहार गर्नु गर्नु ठूलो अपराध हो। त्यसकारण यस्तो अपराध गर्ने व्यक्तिलाई सजाएर दण्ड दिनुपर्ने छ। र यस्ता धर्मको नाममा भएका अमानवीय प्रथाहरुलाई हटाउने कार्यक्रम गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *