एनएमसीमा समयअगावै जन्मिएका जुम्ल्याहा शिशुको बचाइयो ज्यान

काठमाडौं । अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी)ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ । गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो ।

सर्लाही, लालवन्दी १ की जीताकुमारी चौधरीको गर्भबाट ३० हप्ताका जुम्ल्याहा शिशु निकाल्दै गर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर समस्या देखा परेको थियो । ‘समयअगावै जन्मिएका जुम्ल्याहा शिशुहरुको उपचार गर्नु आफैंमा चुनौतिपूर्ण थियो । उनीहरुको जन्मदै स्वासप्रस्वासमा समस्या, निमोनिया, रगतको प्लेटेटको मात्रा कम भएको र हेमोग्लोविन समेत कम भएकोले उपचार गर्नु झनै चुनौती थियो,’ प्राडा गणेश साहले भने, ‘इन्फेक्सनको कारणले गर्दा यी बच्चाहरुको अवस्था जोखिमपूर्ण थियो । तर, कलेजको क्रिटिकल केयर, बाल रोग तथा नवजात शिशु विभागका सम्पूर्ण टीमले एक साथ काम गरेकाले जुम्ल्याहा शिशुहरुको ज्यान बचाउन सफल भएको हो ।’

जुम्ल्याहा शिशु बचाउन अस्पतालले २ महिनाको अवधिमा करिब ३० वटा रगतको प्रोडक्टहरु ट्रान्सफर गरेको छ । ‘अहिले बच्चाले तापक्रम मेन्टेन र ग्लुकोज मेन्टेन गर्न सक्छ । पहिला पाइपबाट दुध खुवाइएकोमा अहिले चम्चामा राखेर खानसक्ने भएको छ । जन्मदा ११२० र १२६० ग्रामका शिशुहरुको तौल पनि बढेको छ,’ कलेजका क्रिटिकल युनिटका प्रमुख प्राडा साहले भने ।

नेपाल मेडिकल कलेजले गरेको उपचार सेवामा जुम्ल्याहा बच्चाका आमाबुबा खुसी र आत्मसन्तुष्टी देखिएका छन् । ‘शिशुहरुको उपचार गर्दा सबभन्दा राम्रो कुरा मैले बाबुआमा भेट्टाए । उहाँहरुको सकारात्मक सोचले पनि यी शिशुहरुको उपचारमा ठूलो भूमिका खेल्यो,’ प्राडा साहले भने, ‘उहाँहरुले कहिल्लै हार मार्नु भएन । हामीले नेगेटिभ काउन्सेलिङ गर्दापनि उहाँहरुले हार मान्नु भएन यो धेरै ठूलो कुरा हो । म उहाँहरुले देखाउनु भएको धैर्यता र विस्वास प्रति धन्यवाद दिन चाहन्छु ।’

कलेजले जुम्ल्याहा बच्चाको शारीरिक र मानसिक विकासको चक्रलाई नियाल्दै आगामी उपचार विधिहरु अपनाउने बताएको छ । आइतबार जुम्ल्याहा बच्चाहरु अस्पतालको लामो उपचार र बसाईपछि डिस्चार्ज हुँदै गर्दा उपचारमा संलग्न क्रिटिकल केयरका युनिटहरु नै विदाई गर्न आएका थिए । जुम्ल्याहा बच्चाका बुबा लालबाबु चौधरीले आफुहरुले माया मारिसकेको सन्तानलाई अस्पतालले बचाइदिएकोमा भावुक हुँदै खुसी व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *