संघीय संसदमा सांसदहरुको संख्या बढी भयो, १६५ मा झारौँ : धनराज गुरुङ


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयताको पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संघीय संसदमा सांसदहरुको संख्या बढी भएको समेत टिप्पणी गरे ।
समानुपातिक र समावेशी सहित संघीय संसदमा २७५ बाट घटाएर १६५ मा झार्नुपर्ने उनको भनाइ छ । उपसभापति गुरुङले प्रदेशहरुमा समेत सांसदहरुको संख्या बढी भएको कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको जिकिर गरे । उनले संघीयताको नाममा उत्पदानमा केन्द्रित नभई वितरमुखी प्रक्रियामा रमाइरहने प्रवृत्तिले संघीयमाथि सधैं प्रश्न उठिरहने बताए ।
उनले भने,‘हाम्रो जम्माजम्मी तीन करोड जनसंख्या छ, २७५ प्रतिनिधि सभा छ । निश्चित रुपमा समावेशी र समानुपातिकलाई खारेज गर्नु हुदैन । तर समावेशी र समानुपातिकलाई राखेरै पनि १६५ मा जान सकिएला नि । संख्या यहाँ पनि घटाउँ । तल प्रदेशमा पनि संख्या किन जम्बो चाहियो ? त्यहाँ पनि संख्या घटाउँ । हाम्रो संघीय संरचनामा पुनःसंरचना आवश्यक छ । अर्कोतर्फ हामीले उत्पादन नै केन्द्रबिन्दु बनाएर जानुपर्छ । जबसम्म हामीले उत्पादनलाई केन्द्रित गर्दैनौं र वितरणमुखीमा हामी रमाइरहन्छौं तबसम्म संघीयतामा प्रश्न उठि नै रहन्छ ।’
उनले संघीयताको सफल कार्यान्वयन हुन नसक्दा संघ र प्रदेश एउटै बाटोमा हिँडिरहेको टिप्पणी गरे । उनले संघीयताको सफल कार्यान्वयनको लागि पुँजी निर्माणलाई प्राथमिकता दिन जरुरी रहेको बताए ।
