यौन व्यवसाय खुला गर्नुपर्ने प्रमुख सचेतकको भनाइ कांग्रेसको आधिकारिक धारणा होइन : कांग्रेस

आइन्दा त्यस खालको धारणा नराख्न घिमिरेलाई निर्देशन

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ ।

केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए । तर काँग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उनको नितान्त भएको र पार्टीको आधिकारिक धारणा नभएको बताए । पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस दुविधामा नपर्न आग्रह गर्नुभयो । त्यस किसिमको धारणा नराख्न निर्देशन दिइएको पनि बताए ।

उनले भने,‘एउटा विषय बाहिर हाम्रो प्रमुख सचेतकजीले संसदमा बोलेको कुराको टिकाटिप्पणी भइरहेको छ । त्यो नेपाली काँग्रेस पार्टीको आधिकारिक धारणा होइन । त्यस्तो निर्णय नेपाली काँग्रेस पार्टीले लिएको छैन । अहिले कुनै लिने अवस्था पनि छैन । त्यस्तो दृष्टिकोण बनाएको छैन । पार्टी पंक्ति र जनमानस दुविधामा नपरे हुन्छ । प्रमुख सचेतकजीले संसदमा यौन व्यवसायलाई खुला गर्नुपर्छ भन्ने बोल्नुभयो । त्यो उहाँको नितान्त व्यक्तिगत हो । त्यसको खालको धारणा नराख्न भनेका छौँ ।’

बैठकमा राजावादीहरुको प्रदर्शनको बारेमा पनि छलफल भएको प्रवक्ता महतले बताए । सरकार परिवर्तनको कुरा नभएको र सर्वदलीय सरकारको चर्चा नभएको पनि जिकिर गरे ।

सरकारले अझ प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए । जनअपेक्षा धेरै रहेको तर सरकारको काम गर्ने क्षमता सिमित रहेको र क्षमताले भ्याएसम्म काम गर्नुपर्ने बताउनु भयो । सरकारमा बस्नेहरुले कुनैपनि नागरिकले प्रश्न गर्ने ठाउँ दिनु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *