खेलकुद पूर्वाधारमा कर्णालीले राम्रो गरेको छ : खेलकुदमन्त्री


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी कर्णाली प्रदेश सरकारले तयार गरेको भौतिक पूर्वाधार उत्कृष्ट रहेको बताएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सर्वाजनिक कार्यक्रममा मंगलबार खेलकुदमन्त्री चौधरीले आफ्नो प्रदेशको खेलकुद आयोजना गर्न कर्णालीले गरेको पूर्वाधार निर्माणप्रति प्रशंसा गरे ।
मन्त्री चौधरीले राष्ट्रिय खेल संघलाई खेलाडी र खेलको हितलाई केन्द्र बिन्दुमा राखेर काम गर्न आग्रह गर्दै खेलाडीको प्रतिभा देखाउने चाहनालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद भव्य बनाउन सबै एक जुट हुनु पर्नेमा जोड दिए । उक्त कार्यक्रममा कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे ।
सोही अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गरेका थिए । सदस्यसचिव घिसिङले २०३८ सालदेखि शुरु भएको राष्ट्रिय खेलकुद अहिले २२औं संस्करण हुनुपर्ने भएपनि विभिन्न कारण हुन नसकेको र आफ्नो पालामा पहिल्यै बजेट व्यवस्थापन गरेर त्यो अवस्था दोहोरिन नदिने काम गरेको बताए ।
उनले राष्ट्रिय खेलकुद आयोजना गर्न खेल संघको काँधमा पनि जिम्मेवारी रहेको धारणा राखे । राष्ट्रिय खेलकुदमा सहभागी हुन खेलाडी उत्साहित रहेकाले उनीहरू खेल्न पाउने वातावरण बनाउन सम्पूर्ण सरोकारवाला सबै एक ढिक्का हुने पर्नेमा जोड दिनुभयो । दुई वर्षभित्र गर्नुपर्ने राष्ट्रिय खेलकुद केही महिना पर सरेको अवस्थामा सरोकार पक्षहरूले अब निर्धारित समयमा गर्न भूमिका निर्बाह गर्नुपर्ने आवश्यकता रहेको उनँको भनाइ छ । देशलाई धेरैभन्दा धेरै पदक दिलाउन राष्ट्रिय खेलकुदको आयोजना विशेष रहेको उनको विश्वास छ ।
दशौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने तय गरिएको छ । राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो ।
राष्ट्रिय खेलकुदको लोगो र मस्कटलाई प्रयोग गरी तयार गरिएको एनिमेटेड भिडियो पनि प्रदर्शन भएको थियो । लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ । कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाबे्र (रेड पाण्डा) लाई मस्कटका रुपमा प्रयोग गरिएको छ । लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन् ।
