तरकारी खेतदेखि उस्सु प्रशिक्षकसम्म : बुद्धमानको प्रेरणादायी यात्रा (भिडिओ)

काठमाडौँ । हाम्रा समाजका एक प्रेरक पात्र हुन् ३१ वर्षीय बुद्धमान तामाङ । उनी सिन्धुपाल्चोकको एक किसान परिवारमा जन्मिएका हुन् । उनलाई सानैदेखि खेल क्षेत्रमा रुचि थियो ।
गाउँमा धेरैले भलिबल खेल्थे । ठुल-ठुला दाइहरूले भलिबल खेलेको देखेर उनलाई पनि खेल्न मन लाग्थ्यो । तर ऊनीसँग बल थिएन । त्यसैले उनी मोजाको ‘पोके’ बल बनाएर खेल्ने गर्थे ।
गाउँमा एकदिन ‘उस्सु’ प्रशिक्षण सुरु भयो । उनका सबैजसो साथीहरू उस्सु सिक्न जान्थे । उनले पनि बुबा-आमालाई त्यसमा भर्ना गरिदिन भनी आग्रह गरे । तर कमजोर आर्थिक अवस्थाका कारण बुबा-आमाले उनको कुरा मान्नु भएन ।
त्यसै कारण उनको पढाई पनि रोकिन पुग्यो । त्यसपछि उनी १६ वर्षको उमेरमा नै साथीहरूसँग भक्तपुर आए । भक्तपुरमा उनले तरकारी खेतीमा काम गर्न थाले ।
उनले गाउँबाट साथीहरूको पुरानो ‘उस्सु’ खेल्ने ड्रेस आफूसँग ल्याएका थिए । एकदिन उही ड्रेस लगाएर बाटोमा हिँड्दा अचानक उनको भेट सार्क गेमको गोल्ड मेडलिस्ट तथा उस्सु प्रशिक्षक राजकुमार रसाइलीसँग भयो । ‘गाउँतिर उस्सु खेल्ने साथीहरू थिए । उनीहरूको ड्रेस ल्याएको थिए मैले । यता लाएर हिँडेको । बाटोमा राजकुमार रसाइली गुरु भेटिनुभयो’ उनले भने ।
त्यसपछि प्रशिक्षक रसाइलीले उनलाई ‘पहिले कहिल्यै उस्सु खेलेका थियौँ’ भनेर प्रश्न गरे । उनले ‘कहिल्यै नखेलेको र भाइको लुगा मात्र लगाएको हो’ भन्दै जवाफ दिए ।
प्रशिक्षक रसाइलीले भन्नुभयो ‘भाइहरूले खेलेर हुँदैन, आफूले पनि खेल्नुपर्याे ।’
‘खेल्ने त भनेको गुरु तर यता सिकाउने ठाउँ नै भएन’ उनले भने ।
‘खेल्ने भए म सुरु गर्छु’- प्रशिक्षक रसाइली ।
त्यसदिन देखि बुद्धमानको जीवनको नयाँ अध्याय सुरु भयो । प्रशिक्षक रसाइलीले दुवाकोटकै गोल्डेन सुनगाभा स्कुलमा प्रशिक्षण दिन्थे । उनीबाट ४०/४५ जना विद्यार्थीहरूले उस्सु सिक्थे । ती मध्य एक थिए बुद्धमान । उनले करिब ५ वर्षसम्म निरन्तर ट्रेनिङ गरे ।
उनका अनुसार बिहान ६ बजेदेखि उनको ट्रेनिङ सुरु हुन्थ्यो । ट्रेनिङ सक्किएलगत्तै उनी कोठामा पुगेर खाना बनाउँथे । त्यसपछि बेलुकी सम्मै उनी तरकारी बारीमा काम गर्थे ।
त्यसबेला आफूलाई परिवारबाट पनि समर्थन नभएको उनी बताउँछन् । भन्छन् ‘पहिल्यै उस्सु सिक्छु भन्दा बुबाले किन सिक्नुपर्याे, उस्सु सिकेर को ठुलो मान्छे बनेको छ, नचाहिने चोरहरूले पो सिक्ने हो त, हामी सोझो सिधा बनेर हिँड्ने मान्छेलाई त्यो आवश्यकता छैन भनेर घरमा मैले उल्टै गाली खान्थे ।’
उनले काठमाडौँ जस्तो ठाउँमा घरबाट सपोर्ट नभएपछि धेरै समस्याहरूको सामना गर्नुपरेको अनुभव सुनाए । उनका अनुसार एकपटक एसियन गेम सेलेक्सनको फाइनल राउन्डमा विपक्षीले प्रहार गर्दा उनको खुट्टा २, ३ महिनासम्म चलाउनै नहुने गरि दुख्यो ।
अस्पतालमा डाक्टरले खुट्टा प्लास्टर गर्न सल्लाह दिए । तर पैसा नभएपछि उनले त्यो गरेनन् । ‘त्यत्तिकै हिँड्दा हिँड्दै आफ्नै ठिक भयो,’ उनले भने ।
‘हिँड्ने मान्छे लडिन्छ’ भनेजस्तै उस्सुमा सिक्दा पनि अलिअलि चोटपटक लाग्ने उनी बताउँछन् । चोट लागेर घाइते भएमा ‘मेरो मेहनत पुगेनछ’ भनेर सकारात्मक सोच लिनुपर्ने उनले बताए ।
‘पाठ सिक्दै जाने हो । आफ्नो कमी पहिल्याउँदै जाने हो,’ उनी भन्छन् ।
उनले यस क्षेत्रमा फत्ते बहादुर लामा र राजकुमार रसाइली गुरु आफ्नो आइडल गरेको बताए । पहिले धेरै समस्याबाट गुज्रिएका बुद्धमान अहिले चौतर्फी तारिफ बटुली रहेका छन् । उनका बुबा-आमा पनि उनलाई देखेर गर्व महसुस गर्नुहुने उनले बताए । भन्छन् ‘फलानोको छोरो, ढिस्कनाको नाति काठमाडौँ गएर यस्तो यस्तो भएको छ, गाउँबाट नि अलिअलि सपोर्ट गर्नुपर्ने भन्नुहुन्छ ।’
अहिले बुद्धमान तामाङ भक्तपुर दुवाकोटस्थित ऋतम्भरा पाठशाला विद्यालयमा करिब ३० भन्दा बढी विद्यार्थीलाई उसु सिकाउँछन् । बुद्धमानले लामो समयको धैर्यता र संघर्षबाट आज एक उस्सु प्रशिक्षकको रुपमा आफ्नो परिचय बनाउन सफल भएका छन् ।
प्रशिक्षक बुद्धमान उस्सु खेलेर शरीर र मस्तिष्कलाई धेरै फाइदा पुग्ने बताउँछन् । उनले बच्चादेखि वृद्धसम्मका व्यक्तिहरूले व्यायाम गर्न आवश्यक रहेको बताए ।
उनले नेपाल सरकारले पनि यस क्षेत्रको वृद्ध विकाशका लागि धेरै काम गर्न आवश्यक रहेको बताए । ‘अहिले यहाँ त प्राइभेटले ठाउँ दियो । कतिपय जिल्ला, नगरपालिकामा सरकारले सिक्ने ठाउँ उपलब्ध पनि गराइदिएको छैन । सरकारले यो यो ठाउँमा ट्रेनिङ गर्नु भनेर ठाउँ छुट्याइदिए राम्रो हुन्थ्यो,’ उनले भने ।
प्रशिक्षक बुद्धमानले यस क्षेत्रमा लाग्ने विद्यार्थीहरूको भविष्य पनि राम्रो भएको बताए । उनले यस क्षेत्रमा लाग्ने विद्यार्थीहरूलाई ओल्र्ड च्याम्पेन, ओलम्पिक च्याम्पेन र एसियन च्याम्पेन जस्ता प्लेटफर्महरूले प्रतीक्षा गरिरहेको बताए । उनले विद्यार्थीहरूलाई खेल सँगसँगै पढाइलाई पनि निरन्तरता दिन आग्रह गरे ।
भने ‘नेसनल लेबलेखि लिएर माथि माथिसम्म जानका लागि पनि पढ्नु पर्ने रहेछ । नपढेकाहरूलाई चैँ अलि गाह्रै हुन्छ । पढाइ सँगसँगै गेम पनि लान सक्यो भने अझ राम्रो हुन्छ ।’
उनले आफ्नो खेलाडीले दोस्रो बागमती स्तरीय च्याम्पेन सिप हुँदा तेस्रो पोजिसन सम्म ल्याएको र प्रदेश राष्ट्रपति रनिङ सिलमा पनि दुई जना विद्यार्थी फाइनलसम्म पुगेका जानकारी दिए ।