‘सक्किगोनि’ टेलिसिरियलको तेस्रो सिजन विश्राममा, चौथो सिजनमा पनि आउने


काठमाडौँ । चर्चित हास्य सिरियल ‘सक्किगोनि’ टेलिसिरियलको तेस्रो सिजनले विश्राम लिएको छ ।
तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि केही समय विश्राम लिएको उक्त टेलिसिरियलका कलाकार अर्जुन घिमिरेले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिए ।
यससँगै उनले ‘सक्किगोनि’ टेलिसिरियलको चौथो सिजनको पनि घोषणा गरेका छन् ।
उनले लेखेका छन् ‘यसबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ‘चौथो’ सिजन लिएर आउने प्रतिबद्धता प्रकट गर्दछौँ ।’
उनले दर्शकबाट निरन्तर प्रवाह भइरहेको सद्भाव, प्रेम र शुभेच्छामा कुनै कमी आउने विश्वास रहेको बताए ।
उनले ‘चौथो सिजनमा हामी कसरी आउनुपर्ला ?’ भनेर प्रश्न गरेका छन् ।
उनले कला सिर्जनामार्फत नेपाली सामाजिक रूपान्तरणका लागि समाज शास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ ? भनेर दर्शकको प्रतिक्रिया मागेका छन् ।
उनले दर्शकबाट प्राप्त हुने रचनात्मक एवं सिर्जनात्मक अपेक्षा र अनुभूतिप्रति सदैव ऋणी रहने उल्लेख गरेका छन् ।
