राजसंस्था पुनः फर्काउछु भन्नु दिवा स्वप्ना : सांसद ढुंगाना

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवा स्वप्ना भएको बताएका छन् ।

बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरु इतिहासमा सिमित भएको बताए । उनले नेपालका राजाहरुले लोकतन्त्रको विरुद्धमा काम गरेको बताए ।

विगतमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली जनताले स्वीकार गरेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रको विरुद्धमा विभिन्न कदम चालेपछि गणतन्त्र स्थापना भएको बताए । जनतासँग मिलेर बसेका राजसंस्थाहरु अहिले पनि विभिन्न देशमा जिवित रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपाली जनता यो देशमा प्रजातन्त्र लोकतन्त्रका लागि लडि राखे र दरबारले जहिले पनि लोकतन्त्रको विपक्षमा आफ्नो भूमिका चलाइ राख्यो जसले गर्दा आज गणतन्त्रमा पुग्ने स्थिति बन्यो । राजा जनतासँग बस्न तयार भएनन् संसारमा धेरै राजाहरु छन् । धेरै राजाहरु जनतासँग बसेका छन् ति राजाहरु अहिले पनि छँदैछन् । जुन राज जनतासँग बस्न तयार भएनन् ति राजाहरु समाप्त भएका छन् । अहिले फेरि राजाले परिकल्पना गर्ने कि फर्किएर आउने । हो फर्किएर आउने हो भने लोकतन्त्तमा सबैलाई अधिकार छ आफ्नो कुरा राख्ने । तर नवराज सुवेदीको अध्यक्षतामा राजा फर्काउँछु भन्छ भने यो दिवास्वना हो ।’

राष्ट्रिय सभा सदस्य ढुंगानाले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोष मात्रै दिइरहने हो भने देशको अवस्था सिक्किमको जस्तो हुन सक्नेप्रति सचेत गराए । उनले राजनीतिक दलका नेताहरु कोही पनि निर्दोष नरहेको भन्दै संयम भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

उनले भने,‘यो संविधान रहेन भने, देश रहेन भने कहाँ लोकतन्त्रको कुरा गर्ने रु बिपी भन्नुहुन्थ्यो राष्ट्र रहेमा प्रजातन्त्रको कुरा गर्ने हो हामीले राष्ट्र रहेन भने कुन पजातन्त्रको कुरा गर्ने ? आज सिक्किम छैन, अब त्यहाँ प्रजातन्त्रको कुरा गरेर हुन्छ त्यहाँका नेताहरुले ? त्यस्तै अवस्था सिर्जना हुन्छ यदि हामीले बुद्धि पुर्‍याएनौँ भने, यदि हामीले एकअर्कालाई दोष मात्रै दियौँ भने । निर्दोष कोही पनि छैनौँ ।’

राष्ट्रिय सभा सदस्य ढुंगानाले नेपाली काँग्रेस संसदमा ठूलो दल भएर पनि सरकारको नेतृत्व नगरी अरुलाई अवसर दिएको दाबी गरे । उनले नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्नुभन्दा लोकतन्त्रलाई बलियो बनाउनेतर्फ काम गरी रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *