राजनीतिक दलहरुप्रतिको वितृष्णा र असन्तुष्टिहरु सडकमा पोखिए : गोपीबहादुर सार्की

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राजनीतिक दलहरुले जनताका समस्या सही रुपले सम्बोधन गर्न नसक्दा राजतन्त्रमा रुची राख्नेहरुको भावना सडकमा पोखिएको बताएका छन् ।

बुधवार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राज्यको नेतृत्वले जन भावनालाई सम्बोधन गर्न नसक्दा जनताले राजनीतिक दलका नेताहरु विरुद्ध सडकमा वितृष्णा र असन्तुष्टि पोखेको बताए ।

उनले पूर्वराजाप्रति जनताको कुनै आकर्षण नरहेको दाबी गरे । उनले राजतन्त्रको विरुद्ध आन्दोलनमा सबै राजनीतक दलहरु एकतावद्ध भएपनि राजनीतिक परिवर्तनपछि देश र जनताको आवश्यकता र प्राथमिकताका मुद्दामा दलहरु एक हुन नसकेको स्वीकार गरे । नेताहरुका नजिकका व्यक्तिहरु तथा आफन्तहरुले मात्रै लोकतन्त्रको फाइदा उठाएको भन्ने जनतामा छाप परेको उनको भनाइ छ ।

उनले भने, ‘हामी राजतन्त्रको विरुद्धमा संघर्ष गर्ने बेलामा सात दल र माओवादी आन्दोलनको धारसहित जसरी हामी १२ बुँदे हुँदै परिवर्तनलाई अगाडि बढाउने र संविधान जारी गर्नेसम्म हामी मिलेर गएका थियौँ त्यसपछि राजनीतिक पार्टीहरु मिलेर जान सकेनौँ । हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ । राजनीतिक परिवर्तनपछि देशको आवश्यकता के हो ? र राजनीतिक दलहरुको भूमिका के हो रु भन्ने कुरामा पटक पटक सरकारको नेतृत्व गर्नेहरुले पनि र प्रतिपक्षमा रहेर भूमिका खेल्नेहरुले पनि जसरी गम्भीरतापूर्वक लिनु पर्ने हो त्यो विषयमा गम्भीर बन्न सकेनौँ भन्ने कारणले जनतामा जुन खालको असन्तुष्टि भइरहेको छ त्यो राजाप्रति आस्था बढेर होइन, यो हामीप्रतिको वितृष्णा र असन्तुष्टि सडकमा देखिरहेको छ त्यो इमान्दारिताका साथ व्यक्त भएको भावना हो । हामीले जनताको पक्षमा, राष्ट्रको पक्षमा, राष्ट्रको विकासको पक्षमा प्राथमिकता तोकेर बन्नुपर्ने संवैधानिक कानुनहरु, संविधान बनी सकेपछि जनतालाई दिनुपर्ने डेलिभरीको कुरा छ, विकृति अन्त्य गरेर सुशासन गर्ने कुरामा र संघीयता कार्यान्वयन गराएर प्रभावकारी बनाउने कुरामा जुन खालको उदासिनताको स्थिति जनताले अनुभुत गरी राखेका छन् हिजो राजतन्त्रमा मुट्ठीभरकाले फाइदा लिइरहेका थिए भने संघीय लोतान्त्रिक गणतन्त्र आइसकेपछि पनि मान्छेहरुलाई के परी रहेको छ भने दलका नेताहरुको आफन्त र नजिकाहरु, झोलेहरु, चाकडीबाजहरुले लोकतन्त्रको फाइदा तिनले मात्रै लिएका छन् भन्ने वातावरण बनेको छ, जनताको त्यही असन्तुष्टि र आक्रोसको जगमा टेकेर पूर्वराजाप्रति आस्था राख्नेहरु राजतन्त्रपति रुची राख्नेहरुले अलिकति स्पेस खोजेका छन् र त्यो भावनालाई सपोर्ट गर्ने गरी असन्तुष्टि पोखिएको छ मलाई लाग्छ त्यो आत्तिहाल्ने पर्ने स्थिति होइन, तर हामी सचेत हुनुपर्छ ।’

राष्ट्रिय सभा सदस्य सार्कीले गणतन्त्रवादी शक्तिहरु एक ठाउँमा बसेर गम्भीरतापूर्वक छलफल गुर्नपर्ने आवश्यक भएको बताए । संविधान कार्यान्वयन, सुशासन र जनताका आधारभुत आवश्यकता सम्बोधन गर्ने विषयमा दलहरुले साझा धारणा बनाए अघि बढे प्रतिगामी शक्तिले टाउको उठाउन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *