‘एमालेको प्रस्ताव बामदेव एकीकृत समाजवादीमा नजाओस् भनेर रहेछ’


काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव गरेको बताएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ ।
उनले अब तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने समेत बताए । उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताएका छन् ।
उनले भने, ‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो । निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो । त्यही बेलामा एमालेबाट प्रश्ताव आयो । त्यो प्रस्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रैछ । अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौं ।’
जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ ।
