प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई मधेश प्रदेशले हरायो


दाङ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको छ । मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित हो ।दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो ।
मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशङ्कर साहले ३८ र पवन सर्राफले ३६ रन जोडे । रूपेश सिंह ३८ रनमा नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल दिएको थियोे थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए । मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रूपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।
दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।
