खबर दिनभर : देउवा,ओली, प्रचण्ड छोटे राजादेखी बामदेव एमालेको ‘अल्मल’मा सम्म

मृत भइसकेको राजतन्त्र अब फर्किदैन, देउवा,ओली र प्रचण्ड छोटे राजा : डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताएका छन् ।

बुधवार माईतीघर मण्डलामा पार्टीको तर्फबाट आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एकथरी मानिसहरु फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठिक नरहेको बताए ।

उनले राजतन्त्र समस्याको समाधान नभएको उनको टिप्पणी छ । उनले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल छोटे राजाको संज्ञा दिँदै अहिलेसम्म देश र जनताको लागि कुनै काम नगरेको बताए । उनले आफू सरकारमा भएसम्म सबै ठिक र सरकार बाहिर गएपछि सबै सकियो भन्ने परिपाटी अहिलेका तीन नेताहरुले देखाउने गरेको बताए ।

उनले भने,‘एकथरी मान्छेहरुलाई फेरि राजा महाराजा ल्याउने की भन्ने परेको छ । त्यो सत्य होइन, ठिक होइन । धामी झाँक्रीको रुपमा मृत भइसकेको राजतन्त्र आउने वाला छैन । त्यो समाधान होइन । अहिले अर्कोथरी तीन वटा टाउकाका रुपमा आएका छन् । जो आफूलाई छोटे राजा भन्छन् । संविधान जारी भएपछिको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएको छ । अनि तीन वटै टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा हुन्जेल ठिकठाक छ भनेर जनतालाई गफ दिन्छन्, सरकार गएको भोलिपल्टदेखि खत्तम भयो, बर्बाद भयो, सकियो भनेर कराउँछन् । र जनता रनभुल्लमा पर्छन् ।’

पूर्वप्रधानमन्त्री डा।भट्टराईले आयुर्वेदले पूर्ण उपचार गर्न नसक्ने जिकिर गरे । उनले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई वैद्यरुपी टाउको भन्दै उनीहरु जति पटक दोहोरिएपनि देशको समस्या समाधान हुन नसक्ने बताए ।

अहिलेको संविधान धेरै राम्रो छ,यसलाई बचाइराख्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए । यसमा पार्टीको दोष नभइ संविधान नै त्यस किसिमको रहेको बताए । यसलाई बुझेर काँग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताए ।

उनले अहिलेको संविधान धेरै राम्रो रहेको बताए । उनले मावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताए । सभापति देउवाले भने, ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ । यसमा समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ ।

यस संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुत सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर बहुमत ल्याउन सकेको छैन । पार्टीको दोष भन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ ।’

सभापति देउवाले नेपालको गाउँपालिकाहरुमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताए । महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताए । महिलाले अधिकारका लागि मात्रै नभइ जिम्मेवारीकासाथ काम गर्नुपर्ने बताए ।

संविधान र गणतन्त्रमाथी छेडखानी गर्नु गलत : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताएका छन् ।

बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले भने,“शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।”

दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो ।

दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए । चितवन हुँदै सिमरा आइपुग्नु भएका दाहाल यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आएका हुन् ।

सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा सजाय भोग्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा दण्डनीय हुने भन्दै सजाय भोग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ तनहुँद्वारा बुधबार दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले आमनागरिकलाई समस्या परेका बेला कांग्रेसले समाधानको नेतृत्व गर्दै आएको बताए ।

उनले भने,“आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ । जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ ।”

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उनको भनाइ छ ।

एसइईको सम्पूर्ण तयारी पूरा : निर्धक्क भएर परीक्षा दिन आग्रह,५ लाख १४ हजार विद्यार्थी सहभागि हुँदै

बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भोलि चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिँदै भन्नुभयो, “परीक्षाको सम्पूर्ण तयारी पूरा गरेका छौँ, सबै जिल्लाबाट परीक्षाको तयारी पूरा भएको र कुनै पनि केन्द्रमा कुनै समस्या नभएको जानकारी आएको छ । त्यसैले सबै परीक्षार्थीले भोलि बिहान ८ बजेदेखि आफ्नो परीक्षा केन्द्रमा पुगेर निर्धक्क भएर परीक्षा दिन सबैमा आह्वान गर्दछु ।”

बोर्डले एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा यसअघि नै पुर्‍याइसकेको छ । उनले यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षा दिने जानकारी दिए । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

नियन्त्रक पौडेलले प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताउँदै उहाँले देशभर परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन सरोकारवाला सबैमा आह्वान गरे । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने र काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए ।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार छ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी ९इलेक्टिभ इङ्लिस०को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । वि.सं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई मधेश प्रदेशले हरायो

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको छ । मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित हो ।दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो ।

मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशङ्कर साहले ३८ र पवन सर्राफले ३६ रन जोडे । रूपेश सिंह ३८ रनमा नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल दिएको थियोे थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए । मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रूपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।

दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

‘एमालेको प्रस्ताव बामदेव एकीकृत समाजवादीमा नजाओस् भनेर रहेछ’

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा ९एकीकृत समाजवादी० मा जान नदिन एमालेले प्रस्ताव गरेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ ।

उनले अब तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने समेत बताए । उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताएका छन् ।

उनले भने, ‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो । निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो । त्यही बेलामा एमालेबाट प्रश्ताव आयो । त्यो प्रस्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रैछ । अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौं ।’

जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ ।

उज्यालो नेपालको नायक कुलमान होइनन् : उर्जामन्त्री

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरे । कार्यकारी निर्देशक घिसिङ उद्योगो लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ ।

उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गर्नुभयो । उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहहेको बताए ।

उनले भने,‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपुर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ । त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है । बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यावाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो ।’

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए । प्राधिकरण नाफा रहको भनि गरिएको दाबीमा कुनै सत्यता नभएको उनको तर्क छ ।

सांसद शर्माले संसदमा दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव

प्रतिनिधिसभामा स्वास्थ्य बिमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा। सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बिमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव’ शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।

यो प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बिमा योजना प्रारम्भ गर्नु रहेको उल्लेख छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ ।

राष्ट्रिय स्वास्थ्य बिमा योजना स्थापना गर्नुपर्ने, कम आम्दानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बिमा प्रिमियममा सहुलियत प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बिमा सेवा प्रदायकको निगरानी र अडिट गरी पारदर्शी र जबाफदेही बनाउनुपर्ने, स्वास्थ्य बीमा बारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यो प्रस्ताव पारित गरेर सबै नेपालीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि गरी सेवा नपुगेकालाई प्रभावकारी ढंगले समेट्नुपर्ने, उपचार खर्चमा कटौती हुने, स्वस्थ जनसङ्ख्या निर्माण हुने अपेक्षा सांसद शर्माको छ ।

‘आम नागरिकलाई सर्वसुलभ, सहज स्वास्थ्य उपचार पुर्‍याउन सार्वजनिक, निजी साझेदारीको प्रणालीलाई मजबुत गर्दै राज्य निर्देशित, एकरुपात्मक स्वास्थ्य उपचार सेवालाई बढवा दिई गुणस्तरीय, चुस्त सेवाको नमुना विकास हुने,’ उनले उल्लेख गरेका छन् । यो प्रस्तावमाथि संसद्मा छलफल चलाउन पनि सांसद शर्माले आग्रह गरेका छन् ।

२५ करोड विदेशी अवैध मुद्राबारे उच्चस्तरीय छानविन समिति गठन गर्न माग

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले मुलुकमा आर्थिक अपराध मौलाउदै गएकोप्रति समेत चिन्ता व्यक्त गरेका हुन् ।

उनले यस्तो अपराध उच्च तहको संलग्नताबिना सम्भव नहुने भन्दै आवश्यक अनुसन्धान गर्न माग गरे ।

उनले घटनाको छानविन गरि संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने– ‘यस्ता प्रकृतिका घटनामा भरिया र ड्राइभरमात्र पक्राउ पर्दछन् । केही समय ठूलाठूला समाचार बन्दछन् र निश्चित समयपछि सामान्य रुपमा जाने गरेको छ । हाम्रो दलको तर्फबाट, यो घटनाको लागि छानविन गर्न एउटा विशेष छानविन समिति गठन गरियोस् र यो घटनामा संलग्न उच्च तहका नेता एवं कर्मचारी भएपनि कानूनी दायरामा ल्याउन माग गर्दछु ।’

काठमाडौं प्रहरीले करिव २५ करोड नगदसहित दुई जनालाई पक्राउ गरेको थियो । अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको छ ।

‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक-२०८०’ पारित

‘बैंकिङ्क कसुर तथा सजाय दोस्रो संशोधन विधेयक-२०८०’ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त ‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो ।

यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा विधेयकका प्रस्तावक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमा सहमती जनाएकोप्रति सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

नेप्से निरन्तर ओरालोतिर

शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ ।

आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार छ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको ९५ लाख ८३ हजार आठ सय २९ कित्ता शेयर ५४ हजार छ सय २२ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब १४ करोड ३९ लाख ९७ हजार बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा होटल तथा पर्यटन, म्युचल फण्ड र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेका छन् ।

होटल तथा पर्यटन शून्य दशमलव १०, म्युचल फन्ड शून्य दशमलव ०३ र व्यापार समूहको उपसूचक शून्य दशमलव ६० प्रतिशतले बढेको आजको बजारमा अरु सबै समूहका उपसूचक घटेका छन् ।

बैंकिङ समूह शून्य दशमलव ५६, विकास बैंक शून्य दशमलव १३, वित्त एक दशमलव ५३, जलविद्युत् शून्य दशमलव ६७, लगानी शून्य दशमलव ४९ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले घटेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ३९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव २० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २९ करोड ६७ लाख ३२ हजार ६८२ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ३५ हजार छ सय २५ कित्ता शेयर किनबेच भएको छ ।

सुनको मूल्यमा लगातार नयाँ ऐतिहासिक रेकर्ड

नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

इजरायली हवाई आक्रमणबाट गाजामा २५ जनाको मृत्यु

इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी स्रोतले जानकारी दिएको छ ।

पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले घरलाई निशाना बनाएको बताएका छन् ।

यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले रातभर उत्तरी गाजामा हमासको सैन्य साइटमा आक्रमण गरेको जनाएको छ । सामाजिक सञ्जालमा प्रसारित फुटेजमा परिवारहरू फोहोरले भरिएका सडकहरूमा हिंडिरहेका, केहीले गद्दा र घरायसी सामानहरूले भरिएका गाडाहरू धकेलिरहेका र अरूले आफ्ना डराएका बच्चाहरूको हात समातिरहेका देखिएका छन् ।

विज्ञप्तिमा बासिन्दाहरूलाई सुरक्षाको लागि पश्चिमी गाजा शहर र खान युनिसका ज्ञात आश्रयस्थलहरूमा तुरुन्तै स्थानान्तरण गर्न आह्वान गरिएको छ ।इजरायली सेनाले मङ्गलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण सुरु गरेको छ, जसमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भङ्ग भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *