स्ववियु निर्वाचनमा नेविसंघ पहिलो : क्रान्तिकारीको बलियो उपस्थिति, कसले कति जिते (सूची)


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । प्रमुख विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धामा कुनै ठूलो अन्तर नदेखिए पनि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) अग्रस्थानमा रहेको छ भने एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको बलियो उपस्थिति देखिएको छ ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार, हालसम्म १०९ आंगिक तथा सामुदायिक क्याम्पसहरूमा उनीहरूले जित दाबी गरेका छन् । विशेष गरी काठमाडौंका चार आंगिक क्याम्पसहरू- थापाथली इन्जिनियरिङ क्याम्पस, आयुर्वेद क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ क्याम्पसमा नेविसंघ विजयी भएको छ ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले ९१ क्याम्पसमा विजय हासिल गरेको जानकारी दिएका छन् । अनेरास्ववियुले ११ आंगिक क्याम्पससहित काठमाडौंका महेन्द्र रत्न क्याम्पस ताहचल, ललित कला क्याम्पस, र नेपाल कमर्स क्याम्पसमा नेतृत्व लिएको छ । अन्य प्रदेशगत नतिजाअनुसार, अनेरास्ववियुले कोशीमा १५, मधेसमा ३, बागमतीमा २२, गण्डकीमा १०, लुम्बिनीमा २३, कर्णालीमा ८ र सुदूरपश्चिममा १० क्याम्पसमा जित निकालेको छ ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि महत्वपूर्ण उपस्थिति जनाउँदै ८१ क्याम्पसमा विजय प्राप्त गरेको छ । अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार, काठमाडौंका दुई आंगिक क्याम्पस- जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पससहित ७ आंगिक क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । अन्य महत्त्वपूर्ण क्याम्पसहरूमा भोजपुर बहुमुखी क्याम्पस, विराटनगर डिग्री कलेज, नर्सिङ क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, चितवन इन्जिनियरिङ क्याम्पस रहेका छन् ।
स्वतन्त्र उम्मेदवारहरूको पनि केही क्याम्पसमा जित देखिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वयम श्रेष्ठ स्वतन्त्र उम्मेदवारका रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) मा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । यो निर्वाचनको प्रारम्भिक नतिजाबाट विद्यार्थी राजनीतिमा कुनै एकल संगठनको वर्चस्व नरहेको स्पष्ट भएको छ ।

अनेरास्वब्यु ओरालो लाग्नु ओलि कै कारण ले हो महेन्द्र मोरङ बिराटनगर मा तेश्रो स्थान मा आउनु दुर्भाग्य हो