टियु मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम वैशाख २४ भित्रै निर्माण सकिन्छ : उपप्रधानमन्त्री


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने बताएका छन् ।
बिहीबार निर्माणाधीन मैदानको निरीक्षणका लागि कीर्तिपुर पुगेका उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै सकिने गरी काम अघि बढाइएको बताए ।
उनले त्यसका लागि तीन चरणमा निर्माणको काम अघि बढाइएको बताए । फ्लड लाइट जडान र १० सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताए ।
उपप्रधानमन्त्री सिंहले भने ‘वैशाख २४ गतेको मितिभित्रै काम पूरा गर्न तीव्र गतिका साथ काम अघि बढिरहेको छ । हाम्रो चाहना वैशाख २४ गते नै सम्झौताअनुसारको निर्माण कार्य पूरा भएर उद्घाटन गर्न पाए राम्रो हुन्छ । त्यही अनुसार काम हेरौँ भनेर आएको हो । यस्ता स्टेडियमहरू हामीले ठाउँ ठाउँमा बनाइरहेका छौँ । समयमै सक्नका लागि तीन चरणमा काम अघि बढिरहेको छ । फ्लड लाइट जडान र १० सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि गर्न सकिने रहेछ भनेर देखाउन सक्छौँ । तीन चरणमा युद्धस्तरमा काम भइरहेको छ । समयमै सकिने विश्वास मलाई छ ।’
निरीक्षणका लागि पुग्नुभएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले पहिलो मन्त्रीपरिषद्को बैठकबाट नै क्रिकेट मैदान निर्माणको निर्णय गरेर अघि बढेकाले समयभित्रै सकिने दाबी गरे । उनले समयमै निर्माण सकिसक्न तीन चरणमा काम भइरहेको जानकारी दिए ।
उनले भने ‘सरकारको पहिलो बैठकबाट नै यो निर्णय भएको हो । कसरी छिटो भन्दा छिटो काम हुन्छ भनेर हामी अघि बढिरहेका छौँ । तीन सिफ्टमा काम गरिरहेका छौँ । जुन किसिमको सम्झौता गर्नुभएको छ, त्यो भन्दा अगाडि नै काम सकिदिन आग्रह गर्दछु ।’
२०८२ को वैशाख २४ गतेभित्र १० हजार सिट क्षमताको प्यारापिट र र ६ वटा फ्लड लाइट जडान गर्ने सरकारले काम अघि बढाइरहेको मन्त्री द्वयको भनाइ छ । फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ । मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३।०३ रुपैयाँमा ठेक्का पाएको थियो ।
फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।
