दाँत स्वास्थ्यबारे सामाजिक बुझाइमा परिवर्तन गरौँ : स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दाँत स्वास्थ्यका बारेमा सामाजिक बुझाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौतीहरू’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बिग्रिएका दाँतहरू कस्मेटिक पद्धतिबाट मिलाउने कार्यलाई दाँतको स्वास्थ्यसँग जोडेर आमसर्वसाधारण भ्रममा परेको बताए । उनले शरीर स्वस्थ राख्नका लागि दाँत स्वस्थ राख्नुपर्नेमा जोड दिए । उनले दाँत उपचारका लागि अस्पताल, उपकरण तथा जनशक्तिको अनिवार्य आवश्यकता हुने बताए । दाँतको स्वास्थ्यसँग शरीरको स्वास्थ्य जोडिएको उनको भनाइ छ ।
उनले भने ‘दाँतको उपचारलाई कस्मेटिक उपचार मानिन्छ, त्यो गलत छ । यो स्वास्थ्य उपचारभित्रै पर्छ । भित्र परेका दाँतहरू बाहिर ल्याउने मात्रै त्यो उपचार होइन, दाँतको सम्बन्ध शरीरसँग हुन्छ । त्यसैले स्वस्थ शरीरका निम्ति स्वस्थ दाँतको आवश्यकता पर्छ । यो कुरा हामीले बुझाउन सकिरहेका छैनौँ । यसका लागि अनिवार्य रूपमा अस्पताल र उपकरण हुनुपर्छ । त्यसअनुसार जनशक्ति हुनुपर्छ । यो गरेपनि हुने नगरेपनि हुने जस्तो सोचाइ छ यो गलत हो । शरीर स्वास्थ्य राख्नका निम्ति अभिन्न रूपमा दाँतको स्वस्थता जोडिएको हुन्छ । जुन खालको न्यारेटिभ छ त्यो बदल्नु आवश्यक छ ।’
मन्त्री पौडेलले नेपालमा दाँत सम्बन्धी जनशक्तिको उत्पादन भइरहे पनि समाजले दाँत स्वास्थ्यका बारेमा नबुझेका कारण चिकित्सकहरू विदेश पलायन हुनुपरेको बताए । उत्पादित जनशक्तिले नेपालमै सेवा दिने व्यवस्था मिलाउनका लागि समाजले उक्त विषयको आवश्यकता महसुस गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने ‘अहिले जनशक्ति उत्पादन भइरहेको छ । सरकारी तहले पनि त्यसलाई पूर्ण प्राथमिकतामा राख्न नसकेको कारणले तथा समाजले पनि यसको उपचार पद्धतिलाई गम्भीर ढंगले जे हो त्यही रूपले नबुझेको कारणले हामीले जनशक्ति नेपालमै राख्न सकिरहेका छैनौँ । उत्पादित जनशक्तिलाई नेपालमै राख्ने स्थिति बनाउनका लागि कुनैपनि पदको कुनै पनि कामको कुनैपनि व्यवसायको सान्दर्भिकता त्यो समाजले बुझेको हुनुपर्छ । त्यो समाजलाई त्यो व्यवसायको कामको आवश्यकता महसुस हुनुपर्छ ।’
मन्त्री पौडेलले देशभरका सबै संघीय अस्पतालमा दाँतको दरबन्दीको व्यवस्था गरी उपचार इकाई बनाउने प्रतिबद्धता जनाए ।
