गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस

काठमाडौं । नेपालमा सशस्त्रद्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

वि.सं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जन निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले गरेका थिए ।

वि.सं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

कोइरालाको नेतृत्वमा वि.सं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए ।

आन्दोलन सफल भएपछि कोइराला चौँथो पटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले वि.सं २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा तत्कालीन माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो ।

उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक बिपी कोइरालाको सपना वि.सं २०६४ चैत २८ गते पूरा भएको थियो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ ।

पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्रद्वन्द्वरत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।

चार पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए ।

राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका हुन् ।

पूर्व प्रधानमन्त्री कोइरालाको नेतृत्वमा वि.सं २०६५ जेठ १५ गते मुलुकबाट दुई सय ४० वर्षको इतिहास बोकेको शाहवंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो ।

बोलेको कुरा पु¥याउने राजनेताका रूपमा स्थापित कोइरालाको वि.सं २०६६ चैत ७ गते निधन भएको थियो ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएका योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १५औँ स्मृति दिवस मनाउँदै छन् । यस अवसरमा आज जिपी कोइराला फाउन्डेसनले उहाँको स्मृतिमा राजधानीमा कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *