सरकार युवाहरुलाई स्वदेशमै रोजगारी दिन चाहन्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागिरहेको बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । युवाहरु उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जानेक कुरालाई नकारात्मक रुपमा लिन नहुने बताए ।
उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जानकारी समेत गराए ।
उनले भने ‘व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’
देश बन्दै बन्दै बनेर युवाहरुमा नकारात्कक प्रभाव पार्ने काम भइरहेको भन्दै उनले यस्तो गर्न नहुने समेत बताए ।
