गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ : विप्लव


विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल मोरङद्वारा बिहीबर आयोजित अन्तरसम्वाद कार्यक्रममा उहाँले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिए ।
महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको चर्चा गरे ।
मुलुक सैद्धान्तिक र व्यावहारिक दृष्टिले पनि सङ्कटमा रहेको बताउँदै उनले समाजवादको लक्ष्य पूरा गराउन पुँजी निर्माण हुनुपर्ने बताए । महासचिव चन्दले सरकार शिक्षा, स्वास्थ्य र रोगगारका विषयमा चुकेको, पुँजी निर्माण र बचतको ज्ञान विस्तार नभएकाले नेपाली जनताले समस्या बेहोरिरहेको धारणा राखे ।
उनले माओवादी, समाजवादी र सबै कम्युनिष्टबीच एकताको प्रयास तथा छलफल भइरहेको जानकारी दिँदै चैत १५ गते समाजवादी मोर्चाले गर्ने भेला शान्तिपूर्ण हुने उल्लेख गरे ।
