देशमा सुशासन पटक्कै छैन : डा.शेखर कोइराला


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए । उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए ।
सांसद कोईरालाले भने,‘आजको दिन पनि हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । नेपाली काँग्रेस र एमाले सरकारमा नै छौँ । हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो । भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ । उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ, मन्त्रीपरिषद्मा जान्छ, उहाँहरुलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ, त्यसरी गइरहनुभएको छ । सुशासन पटक्कै छैन । हामीले यो कुरा भन्ने की नभन्ने । नेपाली काँग्रेस हामी सत्ता पक्षका हौँ । तर हामी सरकारमा छैनौँ ।’
सांसद काईरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताए । नेपाल अफ्ठ्यारोमा परेको बताए । उनले अबका दिनमा कुनैपनि पार्टीको पछि नलाग्ने बताए ।
