थारु सांस्कृतिक प्रदर्शनी भव्यताका साथ सम्पन्न


बर्दघाट । ‘थारु संस्कृति, थारु खाना, हाम्रो पहिचान थारु समुदाय, उद्यमशीलता बनाउने हो अभियान’ नाराका साथ भव्य थारु सांस्कृतिक प्रदर्शनी सम्पन्न भएको छ । बेलहानीस्थित उन्नति कल्चरल भिलेज बिहीबार थारु संस्कृतिको रौनकले झलमल थियो।
पश्चिम नवलपरासीका थारु समुदायको विशेष सहभागितामा सम्पन्न यो प्रदर्शनीले स्थानीय संस्कृति, परम्परा, भेषभूषा, नृत्य, हस्तकला तथा खानपानको विविधता झल्काएको थियो।
उन्नति कल्चरल भिलेजको मुख्य आयोजना तथा नेपाल थारु संघको सहआयोजनामा भएको यस कार्यक्रममा थारु समुदायको पहिचान झल्काउने विविध स्टलहरू राखिएका थिए।
थारु घर, हस्तकला, परम्परागत लुगा तथा गहना प्रदर्शनी, स्थानीय थारु उद्यमीहरूद्वारा निर्मित सामग्रीका स्टलहरू विशेष आकर्षण बने। ढिक्री, सिद्रा माछा, घोंगी लगायतका मौलिक थारु परिकारहरूले सहभागीहरूको ध्यान खिचे।
कार्यक्रमका मूल आयोजक समितिका अध्यक्ष राधेश्याम चौधरीले थारु संस्कृतिलाई जीवन्त राख्न र जगेर्ना गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए। नेपाल थारु संघका सहआयोजक सुर्यमन चौधरीले भने, थारु समुदायको संस्कृति तथा परम्पराको व्यापक प्रचार हुन जरुरी छ। यस्ता कार्यक्रम देशभरि हुनुपर्छ।
संघीय सांसद विनोद चौधरीको विशेष पहलमा सम्पन्न यस कार्यक्रममा चौधरीले नेपालको चौतर्फी विकासमा थारु समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए।
उनले भने, ‘सवै जातजाति तथा भेषभूषा नेपाल र नेपालीको पहिचान हुन्। थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनले नवलपरासीको पर्यटन र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउनेछ।’
कार्यक्रमको आकर्षण झुमरा, हुरी जस्ता परम्परागत नृत्यहरू रहे। सांस्कृतिक झाँकीले माहोल उल्लासमय बनायो भने स्थानीय संस्कृति प्रेमीहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनायो। आयोजक टोलीले आगामी दिनमा अझ वृहत् रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
