संघीय संरचनाले धेरै सुविधाहरू दिन्छ, धेरैलाई राज्यमा सहभागिता गराउँछ : सञ्चारमन्त्री


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समतामूलक समाज निर्माणका लागि संघीयता उपयुक्त राज्य प्रणाली भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले संघीय राज्य संरचनामार्फत आदिवासी तथा जनजातिहरूको आर्थिक, संस्कृति तथा सामाजिक स्तर माथि उकास्न सकिने बताए । वर्गीय, क्षेत्रीयलगायत सबै किसिमका असमानता हटाउन संघीयता अभ्यासको उपयुक्त थलो भएको उनको भनाइ छ । उनले पिछडिएका तथा सीमान्तकृत वर्गलाई नीति निर्माण तहका साथै राज्यका विभिन्न निकायमा पुग्न संघीय संरचनाले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
उनले भने ‘आदिवासी जनताजीको आर्थिक, सांस्कृतिक, राजनीतिक, सामाजिक सबै स्थितिलाई माथि एडभान्स कम्युनिटीको लेबलमा उनीहरूलाई ल्याउन पर्यो । यसको लागि संघीय संरचना चाहिन्छ भनेर संघीयतामा गएको हो । यो वर्गीय असमानता मात्रै होइन, जातीय, भाषिक, क्षेत्रीय असमानता भएको हुनाले यी सबैको अभ्यास गर्ने र समतामूलक समाज निर्माण गर्ने एउटा मात्रै संरचना त्यो संघीय संरचना हो र हामी त्यसैमा गयौँ, यसले धेरै अवसर दिन्छ हामीलाई । धेरै सुविधाहरू दिन्छ संघीय संरचनाले । धेरैलाई राज्यमा सहभागिता गराउन सकिन्छ ।’
मन्त्री गुरुङले राष्ट्रिय एकता बलियो बनाउन संघीयता आवश्यक भएको बताए । संघीयता नबुझ्नेहरूले संघीयतालाई देश टुक्र्याएको भन्ने गरेको उनको भनाइ छ ।
