हा हा हु हु गर्दैमा लोकतन्त्र मासिँदैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरूको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे ।
लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उनको भनाइ छ । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने रु भन्ने रहेको बताए ।
उनले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने ‘हेर्दाहेर्दै दरबार हत्याकाण्ड जस्ता काण्डहरू भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन । लोकतन्त्र कहाँ बच्यो ? ती दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ? एयरपोर्टदेखि महाराजगञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरूले मार्च गरेको देखियो । लोकतन्त्र हुनु हुँदैन, संविधान अनुसार देश चल्नु हुँदैन, कानुनी राज हुनु हुँदैन । अराजकता सिर्जना गरेर केही मान्छेहरूले सजिलो हुन्छ, अस्तव्यस्त कायम गर्न । केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरूमा जस्तै उथलपुथल हाहा हुहु गरेको भरमा हुन्छ भन्ने । नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रूपमा सुदृढ गर्ने ? भन्ने हो । लोकतन्त्र मासिने कुरा हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले स्थानीय तहलाई स्वच्छ बनाउने कुरामा आफूहरू लागि परेको बताए । उनले जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरू पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताए । सिंहदरबार भ्रष्ट नरहेको दाबी गर्दै सिंहदरबारमा बसेर देशको नेतृत्व गर्ने आफूले सधैँ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने गरेको बताए ।
उनले भ्रष्टाचार मुक्त सुशासन, भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सेवामा छिटो छरितो सेवा दिने काममा आफूहरू लागेको बताए । उनले स्थानीय तहको विकल्प नभएको पनि बताए ।
प्रधानमन्त्री ओलीले आफूहरू देश निर्माण गर्ने कार्यकर्ता भएको बताए । संविधानको प्रभावकारी कार्यान्वयन र केही कुराहरू संशोधन गर्दा विचार पुर्याएर समयानुकूल बनाएर अघि बढ्न जरुरी रहेको बताए । संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने, प्रभावकारी बनाउने, कमजोरी हटाउने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने भएको बताए ।
