विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो


तनहुँ । विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको मृत्यु भएको हो ।
गत आइतबार च्याउ खाएर सख्त बिरामी भएका बालकको बुधवार साँझ शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार च्याउ खाएर मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सोमबार उपचारकै क्रममा सोही वडाका ३० वर्षीय नारायण मगरको मृत्यु भएको थियो ।
मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मङ्गलबार मृत्यु भएको थियो ।
प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि बालकलाई शनिवार साँझ गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो ।
बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् ।
जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् ।
उनीहरूमा बान्ता हुने, पखाला लाग्ने, रिङगाटा लाग्ने लक्षण देखिएको थियो । उक्त लक्षण नरोकिएपछि गम्भीर प्रकृतिका दुई जनालाई थप उपचारका लागि पोखरा र काठमाडौँ लगिएको थियो ।
