अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल : डा.शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले बिहीबार आयोजना गरेको “गिरिजाप्रसाद र लोकतन्त्र” विषयक विचार गोष्ठीमा उनले भने,“जहिले जहिले मुलुक अप्ठ्यारोमा परेको छ, त्यसबेला नेपाली कांग्रेसले नै विभिन्न घटना क्रमको अगुवाइ गरेको छ र सफल भएको छ ।”
उनले कांग्रेस कुनै दलको पछि लाग्न नहुने बताए । कांग्रेसले आगामी रणनीति बनाएर अन्य दललाई मिलाएर अगाडि लैजान सक्नुपर्ने बताउँदै उनले उक्त क्षमता नेपाली कांग्रेसमा रहेको धारणा राखे ।
सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्दा आफूहरूलाई कुनै आपत्ति नभएको बताउँदै उनले कांग्रेस र सरकारलाई खबरदारी गर्नु प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे ।
उनले कृषि, हाइड्रोपावर, पर्यटन र डिजिटलाइजेशनलाई प्राथमिकतामा राख्न सके मात्रै मुलुकको समृद्धि हुने जिकिर गरे ।
