खबर दिनभर : एसईई सुरु, सांसद-प्रधानमन्त्रीबीच सवालजवाफ, राजावादी विरुद्ध एमाले सडकमा

विकास निर्माण पूरा गर्न ऋण लिनुपर्ने बाध्यता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनु परेको बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त गर्न काम गरी रहेको दाबी गरे ।

असहज आर्थिक अवस्थामा गुज्रिरहेको अवस्थामा वर्तमान सरकार बनेको बताए । उनले उत्पादकत्व बढी भएका ठाउँमा लगानी गर्न ऋणको रकम खर्च भइरहेको बताए । कतिपय विकास निर्माणका काम अन्तिम चरणमा रहेको तर ऋण बाहेक अर्को विकल्प नभएको उनको भनाइ छ ।

उनले भने,‘नेपाल पछाडि परेको छ, गरिब छ । त्यसैले एलडिसीमा परेको छ । अझ निकै असहज आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा अहिलेको सरकार बनेको छ । र अहिले लिएको ऋण यो देशको विकासकै लागि हो । बढी उत्पादन र बढी उत्पादकत्व हुने ठाउँ जहाँ छ त्यस ठाउँमा खर्च गर्न र बढी विकासका काममा तिब्रता दिनका लागि ऋण लिने काम गरिएको छ । अहिलेको सरकारको नीति के छ भने पहिलादेखि चलिआएका आयोजना छन् र अधुरो छोड् मिल्दैन त्यो चलाउनका लागि ऋण बाहेक अर्को उपाय छैन ऋणकै अंश फेज १,२ र ३ गरी अहिले फेज ३ मा ऋण नलिएर त्यसलाई असफल बनाउन सकिँदैन । त्यसैले ऋण लिन बाध्य हुनुपर्ने अवस्था रहेको हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकारका कर्मचारी लोकसेवा आयोगमार्फत नियुक्ति गरिने भएकाले सरकारले आफ्नो मान्छे राख्यो भन्ने भनाइ आरोप मात्रै भएको बताए । उनले कर्मचारी नियुक्ति प्रक्रियामा सरकारको मान्छे राख्न लोकसेवा अयोगले सहयोग पु¥याउँछ भन्ने कुरामा आफूलाई विश्वास नभएको जिकिर गरे ।

उनले भने,‘कर्मचारीहरुको नियुक्ति लोकसेवा आयोगमार्फत हुन्छ, त्यहाँ आफन्तको कुरा होइन । र लोकसेवाले त्यसअघि पनि त्यसो गरेको थियो भन्ने म मान्दिनँ र अहिले पनि त्यसो गर्छ भन्ने कुरा म मान्दिनँ र भविष्यमा पनि लोकसेवाले कुनै पनि सरकारलाई आफ्ना मान्छे भर्ती गर्न सहयोग पुर्‍याउँछ या भर्ती गरी दिन्छ लोकसेवाले निश्पक्ष परीक्षा लिँदैन र निष्पक्ष पास फेल गर्ने कुरा गर्दैन भन्ने कुरा मलाई विश्वास लाग्दैन । लोकसेवा आयोगबाट कर्मचारीहरु नियुक्त हुने गरेका छन् । तीनै तहमा कर्मचारीको नियुक्ति योग्यताको आधारमा लोकसेवाले गर्ने गरिएको मान्य ज्यूलाई अवगत नै छ भन्ने लाग्छ ।’

प्रधानमन्त्री ओलीले कर्मचारीको ज्ञान, सीप, अनुभव र कार्यंक्षमताको आधारमा पदस्थापन तथा सरुवा गर्ने गरिएको बताए । उनले कानुन विपरित काम गर्ने कर्मचारी दण्डित भइरहेको दाबी गरेका छन् ।

राजावादी विरुद्ध एमाले पनि सडकमा, कहाँ कहिले प्रदर्शन ?

नेकपा (एमाले)ले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान घोषणा गरेको छ ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधि विरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिने बताए ।

उनका अनुसार अभियानअन्तर्गत एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ ।अभियानका क्रममा यही चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी विरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम र चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिने उनले बताए ।

एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्ने भएको छ । चैत २४ देखि ३० गतेसम्म प्रमुख सहरहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रदेश तहमा हुने सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि भने आवश्यकता आधारमा केन्द्रीय नेता खट्ने उनले बताए ।

कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड

अभियान सञ्चालन तयारीका सम्बन्धमा आज महासचिव शङ्कर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई ‘भर्चुअल’ बैठक गरी पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान निर्देशन दिए ।

पार्टीको यही चैत ४ गतेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी संविधान र यसले संस्थागत गरेको लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।

उनले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए । उनले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण जानकारी गराएका थिए ।

अभियानका क्रममा महासचिव पोखरेलले पञ्चायतको अन्त्यपछि कूल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत् उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, मातृशिशु मृत्युदर घटाउन हासिल उपलब्धिबारे आम जनसमुदायलाई अवगत गराउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच टेलिफोन संवाद : विपिन जोशीको रिहाइका लागि पहल गर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग बिहीबार टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुरानकारी गरेका थिए ।

आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए ।
संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।

कृषिप्रधान मुलुकले बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नुपर्नेमा जोड दिएका छन् ।

दक्षिण एसियाली किसान सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भएपनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउन सक्ने अवस्था हुन नसकेको बताए ।

उनले युवाहरुलाई विदेश पलायन हुन रोकेर साना साना उद्योगमार्फत आधुनिक कृषिको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताए ।

सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनमा दक्षीण एसिया क्षेत्रमा रहेका किसानहरुले भोगिरहेका समस्या र ती समस्या समाधानका विषयमा बृहत छलफल गरिने जनाइएको छ ।

खेलकुद क्षेत्रलाई हाम्रो पार्टीले अझ अगाडि बढाउनेछ : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको खेलकुद विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेलकुद क्षेत्रलाई काँग्रेसले अझ अघि बढाउनुपर्ने बताए । उनले खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्त्वपूर्ण रहेको बताए । उनले स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्ने बताए । उनले स्वस्थ शरीर आवश्यक रहेको बताए ।

उनले भने ‘खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्त्वपूर्ण छ । यसलाई हाम्रो पार्टीले अझ अगाडि बढाउनेछ । स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्दछ । त्यसैले स्वस्थ शरीर आवश्यक छ । स्वस्थ रहनका लागि खेलकुदको आवश्यक छ । खेलकुदले स्वस्थ राख्नुका साथै दिमाग र मानसिकता ताजा बनाइरहन्छ । यस्ता कार्यक्रमहरूले खेलाडीहरूको मनोबल बढाउँछ, खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनेछ ।’

सभापति देउवाले खेलकुद क्षेत्रको विचार विमर्शले आगामी दिनमा खेल क्षेत्रको नीति नियम बनाउन मद्दत पुग्ने जिकिर गरे ।

आगामी निर्वाचनमा माओवादीले धेरै ‘सीट’ जित्ने प्रचण्डको प्रक्षेपण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी चुनावी मैदानमा उत्रिए पनि आफ्नो पार्टी अग्रस्थानमा पुग्नसक्ने आधार बन्दै गएको बताएका छन् ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरणसभामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले माओवादीलाई धेरै सीट जित्ने आधार बन्दै गएको बताएका हुन् ।

विगतमा कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्दा माओवादीलाई घाटा भएको बताउँदै उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको उल्लेख गरे । गत उपनिर्वाचन र हालै सम्पन्न स्ववियु निर्वाचनले माओवादीको सामथ्र्य एवं यो दलप्रतिको जनाधार पुष्टि भएको उनको अभिमत थियो ।

“उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिह्न साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ,” उनले भने ।

हुलाकी मार्ग दक्षिण नेपालको जीवनरेखा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले हुलाकी मार्ग निर्माणले गति लिइरहेको भए पनि विभिन्न ठाउँमा पुल बन्न नसकेकाले यो मार्गलाई पूर्णता दिन अभियानले सहयोग गर्ने बताए ।

पृथक प्रसङ्गमा अध्यक्ष दाहालले जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए । उनले पार्टीलेले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँ जनतामा नयाँ माओवादीप्रति भरोसा जगाएको बताए ।

यी तीन अस्पतालमा मष्तिष्क पक्षघातको औषधि निःशुल्क पाइने

तीन वटा सरकारी अस्पतालबाट मष्तिष्क पक्षघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि पाइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वल्र्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जनाएको छ ।

औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मष्तिष्क पक्षघातमा आवश्यकपर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थाप्रति आभार व्यक्त गरे ।

उनले भने, “यो औषधि राज्य कोषबाट किनेर आवश्यकपर्नेलाई उपलब्ध गराउन गाह्रो थियो । आवश्यकताअनुसार अरु अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ । दातृ संस्थासँग अरु महँगा औषधि पनि माग गरेका छौँ ।”

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा.पवनजङ्ग रायमाझीले मष्तिष्क पक्षघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताए । उनका अनुसार ८०० भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको छ ।

उनले भने,“मष्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मष्तिष्क पक्षघात हुने सम्भावना हुन्छ । यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ ।”

डा.रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको रु ७० हजार पर्दछ । उहाँले भन्नुभयो, “यो औषधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मी (न्युरोलोजिस्ट) को आवश्यकता पर्दछ । त्यसैले सुरुआती चरणमा तीन वटा अस्पतालबाट दिने सोचेका छौँ । पछि आवश्यकताअनुसार सबै प्रदेशका सङ्घीय अस्पतालमा उपलब्ध हुन्छ ।”

उनले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा २ देखि ८ ‘सेन्टिग्रेड’मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाए । नेपालमा एक वर्षमा ३०० देखि ४०० को सङ्ख्यामा पक्षघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका छन् ।

जुत्ताभित्र सुन लुकाउने धमला पक्राउ

अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा बिहीबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए।

जुत्ताभित्र १०६ दशमलव नौ ग्राम सुनका टप, औँठी समेतका गहना र टुक्रा सुनसमेत लुकाइछिपाइ ल्याइएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको संयुक्त गस्तीटोलीले जाँचका क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य रु १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताए।

देशमा सुशासन पटक्कै छैन : डा.शेखर कोइराला

नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए । उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए ।

सांसद कोईरालाले भने,‘आजको दिन पनि हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । नेपाली काँग्रेस र एमाले सरकारमा नै छौँ । हामीले सुशासनको लागि त कुरा गर्नुपर्‍यो, अगाडि बढाउनुपर्‍यो । भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ । उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ, मन्त्रीपरिषद्मा जान्छ, उहाँहरुलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ, त्यसरी गइरहनुभएको छ । सुशासन पटक्कै छैन । हामीले यो कुरा भन्ने की नभन्ने । नेपाली काँग्रेस हामी सत्ता पक्षका हौँ । तर हामी सरकारमा छैनौँ ।’

सांसद काईरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताए । नेपाल अफ्ठ्यारोमा परेको बताए । उनले अबका दिनमा कुनैपनि पार्टीको पछि नलाग्ने बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राजामहाराजा खोज्नुको औचित्य नरहेको बताएका छन् ।

नेपाल चेपाङ सङ्घले बिहीबार आयोजना गरेको ‘चेपाङ स्वायत्त, विशेष र संरक्षित क्षेत्र घोषणा तथा चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयको छलफल कार्यक्रममा मन्त्री गुरुङले वर्तमान अवस्थामा राजतन्त्र खोज्नु निरर्थक भएको टिप्पणी गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले समाज विकास र राष्ट्रिय एकताका लागि सङ्घीय शासन प्रणाली समय सुहाउँदो शासन व्यवस्था भएको उल्लेख गर्दै सङ्घीयताको भरपुर फाइदा लिनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति समुदायलगायत सीमान्तकृत वर्गलाई सङ्घीयता महत्वपूर्ण उपलब्धि भएको उनको कथन थियो ।

ठूलो राजनीतिक सङ्घर्ष पछि स्थापित वर्तमान शासन व्यवस्थाबाट लाभ लिन सीमान्तकृत समुदाय चनाखो हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिए । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आदिवासी जनजातिका लागि महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो, “हामी यो व्यवस्थाले दिएका अधिकारहरुबाट लाभ उठाउन अझै चुकेका छौँ ।”

राष्ट्रिय एकताको मूल आधार समावेशी र समतामूलक समाज भएको बताउँदै उहाँले समावेशी पद्धति कार्यान्वयनमा राज्य संवेदनशील हुनुपर्ने बताए । चेपाङ समुदायको संरक्षणमा जोड दिँदै उहाँले त्यसनिम्ति नीतिगत व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेलले तीन तहका सरकारले अब विकासको प्रारुप परिवर्तन गरेर समावेशी ढाँचालाई जोड दिनुपर्छ भने ।

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रमेश गुरुङले सीमान्तकृत समुदायभित्र चेपाङ समुदाय पनि पर्ने भएकाले सरकारले प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले २०३४ सालदेखि चेपाङ समुदायको विकासका लागि राज्यले सञ्चालन गर्दै आएको प्रजा विकास कार्यक्रम २०७४ सालमा रोकिएको गुनासो गरे । “चेपाङ समुदायको विकासमा राज्यले बजेट छुट्याउनुपर्छ”, उनको माग थियो ।

नेप्से निरन्तर ओरालोतिर

शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा गिरावट आएको हो ।

आज नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ६९ दशमलव ३१ को विन्दुमा कायम भएको छ ।

आज तीन सय १२ कम्पनीको ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर ५५ हजार चार सय ७६ पटक खरिद बिक्री हुँदा चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ बराबरको कारोबार भएको हो ।

आज ६२ कम्पनीको मूल्य बढ्दा एक सय ७५ को घटेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज व्यापार समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशत बढेको छ । आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी छ दशमलव ९० प्रतिशतले बढेको छ ।

सुनको मूल्यमा कीर्तिमान यथावत्, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा बुधबार उच्च रेकर्ड बनाएको सुनको मूल्य बिहीबार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ८ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।

सुरु भयो यस वर्षको एसईई

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष दुई लाख ५७ हजार ७३० छात्रा, दुई लाख ५६ हजार ३११ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जना परीक्षामा सहभागी छन् ।

पाँच लाख १४ हजार ७१ परीक्षार्थीमध्ये १६ हजार ९४७ प्राविधिकतर्फका छन् । तिनका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ८१७ जना जनशक्ति खटाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसपटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिइरहेका छन् । भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यसवर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी भएका छन् । उक्त विद्यालयबाट चारजना एचआईभी संक्रमित विद्यार्थीले एसईई दिने नियन्त्रक पौडेलले जानकारी दिए ।

परीक्षा तालिकानुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषय र संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत तथा मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा रहेको छ । परीक्षा चैत १९ सम्म सञ्चालन हुने तालिका छ ।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ७१ पुग्यो

इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् ।

दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको अस्पतालहरूले बताएका छन् । इजरायलले मङ्गलबार गाजाभर पुनः व्यापक हमला सुरु गरेको थियो । यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भङ्ग गरेको छ ।

हमासले उनीहरूको सम्झौताबाट विचलित भएको इजरायल–समर्थित प्रस्तावलाई अस्वीकार गरेको भन्दै इजरायलले नयाँ लडाइँको दोष हमासलाई दिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार मात्र चार सयभन्दा बढी प्यालेस्टिनी मारिएका थिए । यसमा अधिकांश महिला र बालबालिका थिए। हमासले रकेट प्रहार गरेको वा अन्य आक्रमण गरेको कुनै रिपोर्ट आएको छैन।

पछिल्लो आक्रमणमा इजरायली सेनाको तत्काल कुनै टिप्पणी आएको छैन । सेनाले आतङ्कवादीहरूलाई मात्र लक्षित गरेको बताएको छ । उसले हमास आवासीय क्षेत्रहरूमा गहिरो रूपमा अवस्थित रहेकाले नागरिक मृत्युको दोष पनि हमासलाई दिएको छ ।

दक्षिणी सहर रफाहमा रहेको युरोपेली अस्पतालमा रातभर दुई परिवारको घरमा भएको आक्रमणमा महिला र बालबालिकासहित २६ जनाको मृत्यु भएको बताइएको छ । एउटा हमलामा एक बुवा र उनका सात सन्तानको मृत्यु भएको छ ।

खान युनुसमा रहेको नासेर अस्पतालले रातभर एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको थियो । उत्तरी गाजामा इन्डोनेसियाली अस्पतालले बेइत लाहियामा एउटा घरमा भएको हमलामा मारिएका सात जनाको शव प्राप्त गरेको बताएको छ । बेइत लाहिया सीमा नजिककोसहर हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *