रुस-युक्रेन शान्ति प्रयास : ट्रम्पको मध्यस्थता प्रभावकारी बन्न सक्ला ?


काठमाडौं । युक्रेनका परमाणु ऊर्जा केन्द्रहरूलाई सुरक्षा प्रदान गर्न संयुक्त राज्य अमेरिकाले तिनको स्वामित्व लिन सक्ने सङ्केत राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन् । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यो प्रस्ताव युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको एक घण्टा लामो कुराकानीका क्रममा आएको थियो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनको महत्त्वपूर्ण खनिजहरूमाथि पहुँच प्राप्त गर्ने प्रयास गरिरहेको छ । संवाददाताहरूसँग कुरा गर्दै जेलेन्स्कीले उक्त विषयमा छलफल भएको र रुसको कब्जामा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रका बारेमा मात्रै कुराकानी भएको बताए । उनले ट्रम्पसँगको छलफललाई ‘अर्थपूर्ण र सकारात्मक’ भनेका छन् ।
गत महिना ह्वाइट हाउसको ओभल अफिसमा भएको तिक्ततापूर्ण वार्तापछि यो उनीहरूको पहिलो कुराकानी थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेका हुन् । ट्रम्पले ‘अत्यन्तै राम्रो’ संवाद भएको जनाएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा प्रेषित एउटा पोस्टमा ट्रम्पले रुस र युक्रेनका ‘अनुरोध र आवश्यकता’लाई एक ठाउँमा ल्याउन उक्त वार्ता महत्त्वपूर्ण भएको भन्दै युद्धविरामको प्रयास ठिक दिशामा अघि बढेको लेखेका छन् । जेलेन्स्कीले ट्रम्पसँगको कुराकानीलाई सकारात्मक, खुल्ला र अत्यन्त अर्थपूर्ण भनेका छन् । ‘हामी अमेरिका, राष्ट्रपति ट्रम्प र अमेरिकाको नेतृत्वसँग मिलेर यो वर्ष दीर्घकालीन शान्ति हासिल गर्न सक्छौँ भन्ने विश्वास गर्छौँ,’ उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् ।
एउटा अनलाइन ब्रीफिङका क्रममा जेलेन्स्कीले आफू र ट्रम्पबीच रुसी कब्जामा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सम्भावित अमेरिकी स्वामित्त्वबारे कुराकानी भएको बताए । युरोपको सबैभन्दा ठूलो उक्त ऊर्जा केन्द्र अग्रमोर्चामा रहेको स्वीकार गरेको जेलेन्स्कीले त्यसलाई पुन: सञ्चालनमा ल्याउन दुई वर्षभन्दा बढी लाग्ने बताए। त्यो युक्रेनी र युरोपेलीहरूका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
उनले ऊर्जा पूर्वाधार, रेल र बन्दरगाहमाथिको आक्रमणमा रोक लगाउने विषयमा वाशिङ्टन र किएभबीच भएको सहमतिलाई तत्कालै आंशिक युद्धविरामको भाग बनाइनुपर्ने बताए । साथै मस्कोले युद्धविरामका सर्तहरू पालना नगरे आफूहरूले प्रतिकार गर्ने उनले चेतावनी दिए । ‘मैले बुझेसम्म आंशिक युद्धविरामबारे पनि दस्तावेजमा हामीबीच सहमति नभएसम्म, मलाई लाग्छ सबैकुरा उड्ने क्रम चलि नै रहन्छ,’ ड्रोन र क्षेप्यास्त्रलाई सङ्केत गर्दै उनले भने ।
जेलेन्स्कीले आफूलाई मस्कोका मागहरू पूरा गर्न ट्रम्पले दबाव नदिएको पनि बताए । ‘त्यस्तो केही भएन र यो वास्तविकता हो । म खुला व्यक्ति भएको तपाईँहरूलाई थाहा छँदै छ, म तपाईँहरूलाई त्यस्तो भएको भए खुलेरै भन्थेँ ।’
जेलेन्स्की र पुटिन दुवैले ऊर्जासँग सम्बन्धित भौतिक पूर्वाधारमाथिको हमला स्थगित गर्ने बताएका छन् । तर त्यसयता आक्रमणलाई निरन्तरता दिएको भन्दै दुवैले एकअर्कामाथि आरोप लगाएका छन् । ट्रम्पले बृहत् युद्धविराम कायम गराउने प्रयास गरिरहेका छन् तर मङ्गलवार भएको फोनवार्तामा अमेरिका र युक्रेनको समर्थन पाएको ३० दिन लामो युद्धविरामको प्रस्ताव पुटिनले अस्वीकार गरेका थिए ।
ट्रम्पले राष्ट्रपति पुटिनसँग भएको आफ्नो कुराकानीमा केन्द्रित रहेर युक्रेनी राष्ट्रपति वार्ता गरेको अनि रुस र युक्रेनलाई एक ठाउँमा उभ्याउन प्रयास गरेको जनाएका छन् । त्यसको केही बेरपछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पले विशेष गरी युरोपमा युक्रेनको हवाई सुरक्षा प्रणालीलाई थप सुनिश्चित गर्न सहयोग गर्न सहमति जानकारी दिए । दुवैबीच रक्षा सूचना आदानप्रदान बढाउने र रणभूमिमा विकसित परिस्थितिबारे जानकारी आदानप्रदान गर्ने सहमति भएको पनि भनिएको छ ।
प्राविधिक समूहहरूले आगामी दिनमा साउदी अरबमा वार्ता गर्ने र त्यसमा युद्धविरामलाई ब्ल्याक सीसम्म विस्तार गर्नेबारे छलफल गर्ने रुबिओले बताएका छन् । युद्धलाई पूरै टुङ्ग्याउनका लागि त्यो पहिलो कदम हुनेबारे दुवै पक्ष सहमत भएको उनको भनाइ छ । जेलेन्स्कीले फेब्रुअरीको अन्त्यमा ह्वाइट हाउसको भ्रमण गर्दा उनी र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच वादविवाद भएको थियो । त्यस बेला ट्रम्पले अमेरिकाले उपलब्ध गराएको सैन्य र राजनीतिक समर्थनप्रति जेलेन्स्कीले पर्याप्त कृतज्ञता नदेखाएको टिप्पणी गरेका थिए ।
त्यसपछि अमेरिकाले अस्थायी रूपमा युक्रेनलाई सैन्य सहयोग र गुप्तचर सूचना आदानप्रदान स्थगित गरेका थिए । मार्च ११ मा दुवै पक्षबीच युद्धविराममा सहमति भएपछि कूटनीतिज्ञहरू सम्बन्ध सुधार गर्न सफल भएका थिए । बीबीसी
