जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

जिल्ला अदालत काठमाडौँको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै सभापति लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका हुन् ।

शुक्रवार आफ्ना कानुन व्यवसायीसहित अदालत पुगेका लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गरेका हुन् ।

लामिछानेले काठमाडौँ जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी लामिछानेले निवेदन दर्ता गराएका हुन् । लामिछानेले दफा ७३ बमोजिम निवेदन दर्ता गराएका हुन् ।

गत माघ २ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ६० लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेर लामिछाने रिहा भएका थिए ।

लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *