विकास निर्माणका काममा हुने ढिलाइले सरकार र राजनीतिक दलप्रति निराशा बढ्यो : सांसद चौधरी

परासी । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले विकास निर्माणका काममा भइरहेको ढिलाइले सरकार र राजनीतिक दलप्रति जनतामा निराशा बढेको बताएका छन् ।

शुक्रबार पश्चिम नवलपरासीको परासीमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमा उनले सरकारले युवाहरुको आवाज सुन्नुपर्ने बताएका हुन् ।

राजनीतिक दल र सरकारले युवाहरुको आकांक्षा सम्बोधन गर्नुपर्ने बताउँदै हुलाकी सडक र नारायणगढ बुटवल सडकखण्डको काम छिटो सम्पन्न हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘८० लाख युवाहरु देश बाहिर छन् । सबैको हात हातमा मोवाइल छ । सामाजिक सञ्जाल सबैको दैनिकी बनेको छ । यो पुस्तामा आशा र आकांक्षाहरु छन्, त्यसको सम्बोधन गर्न जरुरी छ । राजनीतिक दल र सरकारले यी युवाहरुको अपेक्षालाई सम्बोधन गर्न जरुरी छ ।’

सांसद चौधरीले कोरोनाकालमा बन्द भएका छोटी भन्सार खुलाउन आफूले चार वटा अर्थमन्त्रीसँग कुरा गरेपनि कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

‘मेरो व्यक्तिगत सम्बन्ध र राजीतिक सम्बन्धका हिसावले पछिल्ला चार वटा अर्थमन्त्रीसँग भुजहवा छोटी भन्सार खुलाउनेबारे कुराकानी गरे,’  ‘जनार्दन शर्मा, बर्षामान पुन, प्रकाशशरण महत र विष्णु पौडेल चार जना अर्थमन्त्रीलाई छोटी भन्सार खुलाउनेबारे कुरा गरे । सबैले निर्णय पनि गरे । तर कहाँ गएर रोकिन्छ, थाहा छैन । कोरोनाका बेला बन्द भएको यो भन्सार अझै खुलेको छैन । म आफै अचम्ममा छु,’सांसद चौधरीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *