खबर दिनभर : ८४ अघि प्रचण्ड प्रधानमन्त्री नबन्ने,समयमै महाधिवेशन नभए कांग्रेस कमजोर हुने,नेपालको जित


विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्वारा अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा आज आयोजित कार्यक्रममा उनले शोषक, सामन्तीहरूको षड्यन्त्रको कारण विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य बनेकाले समावेशी र समतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।
संविधानप्रदत्त नागरिकको अधिकार सुनिश्चितता गरी जातीय, लैङ्गिक तथा वर्गीय विभेद अन्त्य गर्न सकिने बताउँदै नेता खनालले कसैलाई विभेद गरेर, अछूत बनाएर, दलित भएकै कारण हत्या गरेर नयाँ नेपाल बन्न नसक्ने विचार व्यक्त गरे ।
उनले समतामूलक समाज निर्माणको बाटोमा अघि बढ्दै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानलाई सार्थक बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नागरिकको मौलिक हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट वञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूल प्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील बन्न सुझाव दिए ।
समितिका संयोजक तथा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले आफ्नो संस्थाले करिब १५ वर्षदेखि दलित समुदायका हक–अधिकारका लागि साझा मुद्दाका लागि क्रियाशील रहँदै आएको जानकारी दिँदै ‘समान हक, समान अवसर, पूर्ण समानुपातिक प्रतिनिधित्व दलित समुदायको अधिकार’ भन्ने मूल नाराका साथ नेपालको दलित आन्दोलनको समीक्षा गरिएको बताए।
संयुक्त राष्ट्रसङ्घले सन् १९६६ देखि हरेक वर्ष २१ मार्चमा अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउँदै आएको जनाइएको छ ।
मिर्गौलासम्बन्धी उपचारमा नेपालले प्रगति गरेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएको बताएका छन् । साथै उनले नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताए ।
नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिए ।
दुई पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउन पाउँदा गर्भ महसुस भएको उल्लेख गरे । सम्मेलनबाट प्राप्त निष्कर्षहरु सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गरे ।
कार्यक्रममा समाजका अध्यक्ष प्रा.डा.दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतिकरण गरेका थिए ।
०८४ सम्म प्रधानमन्त्री बन्दिन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् ।
शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।
अध्यक्ष दाहालले भने ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरुलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ । उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ ।’
उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे । उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताए । सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको बताए । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरूले सरकारमा हुँदा जोड दिएको बताए ।
आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको बताए ।
दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष प्रहरी नियन्त्रणमा
सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । वडा नम्बर ५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यले बताए ।
पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआइजी आचार्यले बताए । आगामी चैत १७ गतेबाट हुने विष्णु महायज्ञको लागि दीपक मरिक (डोम) को घर गत फागुन १० गते भत्काएका थिए ।
देश विकासको मार्गमा अघि बढिरहेको छ, ओली सरकारलाई सबैले सहयोग गरौँ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा आयोजित नेपाली कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले मुलुक स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, समाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताए ।
उनले भने,“२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, समाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ ।”
नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।
“हामी सामाजिक सञ्जालमा बढी समय बिताउँछौँ । सामाजिक सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह कसैले नगरौँ । हामीले विगत र वर्तमान अवस्थालाई विश्लेषण गरौँ अनि मुलुकमा सकारात्मक परिवर्तनसँगै विकास भएको छ कि छैन आफैँ मूल्याङ्कन गरौँ”, उनले भने ।
राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताए। मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै उनले सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
मुलुकको सामाजिक, आर्थिक विकाससँगै युवामाझ अवसर सृजना गर्न सबै राजनीतिक दलले जनतासँग सहकार्य र समन्वय गरी अभियान सञ्चालन गर्नुपर्ने महामन्त्री थापाले धारणा राखे ।
समयमै काँग्रेसको अधिवेशन नभए पार्टी कमजोर बन्छ : शेखर कोईराला
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले २०८३ को मंसिर मसान्तसम्म काँग्रेसको अधिवेशन हुन नसके नेपाली काँग्रेस कमजोर बन्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरेका हुन् ।
‘नेपाली काँग्रेसको अधिवेशन २०८३ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिऔँ हौँ साथीहरू । एकदम सिरियस कुरा छ यो,’ उनले भने, ‘हामीले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन । अधिवेशन तपाईंहरुलाई चाहिएको छ । हामी जस्तालाई चाहिएको छ ।’
उनले आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा २०८३ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेतारकार्यकर्ताहरूलाई निर्देशन दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गरे ।
उनले भने– ‘तपाईँहरूले आवाज उठाउन जरुरी छ । सामाजिक सञ्जालमा दिनदिनै केही न केही लेखिरहेको म देख्छु । मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस् । नेपाली काँग्रेसको १५ औं महाधिवेशन २०८३ को मंसिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस् त । कति प्रेसर पर्दो रहेछ हेर्नुस् । यस्तो प्रेसर पर्छ की कसैले त्यो प्रेसर खेप्नै सक्दैन । नेपाली काँग्रेसको चलायमान अधिवेशनबाट हुने हो नि त । को आउँछ, को जित्छ, हार्छ भन्ने कुरा आफ्नो ठाउँमा छ ।’
सांसद कोईरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गरे । देश विकासका लागि नेपाली काँग्रेस एक ढिक्का हुन जरुरी रहेको बताए ।
उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबिचमा कुनै तिक्तता नरहेको दाबी गरे ।
अहिले म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोले दुई तिहाइको सरकारलाई गाह्रो पर्ने बताएका छन् ।
शुक्रवार काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । उनले समय आएपछि बोल्ने समेत बताए ।
‘म आवेग र उत्तेजनामा छैन । अहिले मैले बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको पनि होला, जब बोल्ने समय आउँछ तब केहीको बोली नै बन्द हुने अवस्था आउँछ’, उनले भने ।
उनले मुलुकमा गम्भीर अवस्था आएको पनि बताए । उनले अहिलेको सरकार नाङ्गिएको दाबी गर्दै सरकारको लाज छोपिदिन मात्र आफू विभिन्न जिल्ला अदालत पुगिरहेको समेत बताए । ‘समय आउँदै छ, म सबैलाई भन्न चाहन्छु ‘गेट रेडी फर द रेभुलेशन’।’
स्वदेश फर्किइन् परराष्ट्रमन्त्री, भारतीय प्रधानमन्त्रीसंग भेटघाटको पहल नगरेको जिकिर
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताएकी छन् ।
भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रवार स्वदेश फर्किएकी उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताइन् ।
नेपालमा व्यवस्था परिवर्तनका लागि राजतन्त्रवादीहरुको गतिविधि भइरहेकोप्रति भारत बेखबर नरहेको उहाँको भनाइ छ । उहाँले भारतका विदेशमन्त्री, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गरिन् ।
उनले भनिन्,‘यहाँको पोलिटिकल गतिविधिका बारेमा खासै त्यस्तो कुरा गरेनौँ । तर उहाँहरुको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने चाहिँ उहाँहरुको हरेक गतिविधिबाट त्यो कुरा बुझ्न जरुरी छ । अहिलेको सरकारसँग एकदमै इन्गेज हुनुहुन्छ, उहाँको ट्रेड मिनिस्ट्री, पावर मिनिस्ट्री, फरिन मिनिस्ट्री सरकारको सिस्टमै चेन्ज हुने भन्ने जस्तो आशय मैले देखेको छैन ।’
परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भएको दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न परिषदमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताउनु भयो । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उनको भनाइ छ ।
उनले भनिन्,‘भ्रमणका क्रममा भएका दुई पक्षीय भेटवार्ताका क्रममा मानव अधिकार परिषदमा नेपालको क्यान्डिनेसी २०२७ देखि २०२९, संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा २०२९ देखि २०३१ सम्म तथा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा २०३७ देखि २०३८ सम्मका लागि नेपालले दिएकोउम्मेदवारीबारे पनि समर्थनका लागि आग्रह गरेको छु । र धेरै जनाले पोजेटिभ रेस्पोन्स दिनुभएको छ ।’
पराराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको पहल नगरेको बताइन् ।
श्री केश बन्यो औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल
श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ ।
सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।
श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५ गते बसेको बैठकले आयोगमा दर्ता गरेको हो ।
यो सँगै श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधी व्यवस्थापन विभागमा दर्ता हुने पहिलो हेयर ओएल बनेको छ ।
२०८१ असार २३ गतेको विभागीय निर्णयअनुसार गत साउन १७ गते औषधि व्यवस्था विभागले जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचिकृत हुनका लागि सूचना जारी गरेको थियो । सोही अनुसार श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल विभागमा सूचिकृत भएको हो ।
श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल मात्रै होइन, अब नेपालमा बनेका जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनहरू अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता हुनु पर्नेछ ।
विभागमा दर्ता हुन आउने कुनै पनि जडीबुटीजन्य सुगन्धित तेलहरूले उत्पादन गर्ने वस्तुको फर्मुला वा कम्पोजिसनको आधार पेस गर्नुपर्ने विभागले मापदण्ड तोकेको छ ।
यसका साथै मूल्य घोषणा पेस गर्नुपर्ने र उत्पादनले जनस्वास्थ्यमा हानी, नोक्सानी नहुने प्रत्याभूति सहितको कबुलियतनामा पेस गर्नु पर्ने लगायतका न्यूनतम मापदण्डहरू पनि पुरा गर्नुपर्ने विभागले जनाएको छ ।
बजारमा विना मापदण्डका जडीबुटीजन्य सुगन्धित तेलहरू भन्दै बिक्री वितरण गरेपछि सरकारले यसको नियमन र नियन्त्रणका लागि मापदण्ड नै बनाएको हो । विभागले अव्यवस्थित बजारलाई व्यवस्थापन र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ ।
नेपालमा पछिल्लो केही वर्षदेखि सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीले विभिन्न आयुर्वेदिक सामाग्रीहरू उत्पादन गरिरहेको छ । मानव स्वास्थ्यमा हानी नपुग्ने जडीबुटीजन्य उत्पादनलाई यस कम्पनीले प्राथमिकता दिएको छ ।
छोटो समयमै देश विदेशमा श्री केशले आफ्नो ब्रान्ड स्थापित गराइसकेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीले उत्पादन गरेको श्री केश हेयर ओएलको माग बढ्दो छ ।
नेपालमै आफ्नो कम्पनी स्थापना गरेर नेपालकै जडीबुटीको प्रयोग गरेर बनाइएको श्री केश हेयर ओएल र सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित विभिन्न उत्पादनहरु सेवाग्राहीको पहिलो रोजाइमा पर्ने गरेका छन् ।
यति मात्रै होइन, सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीले नेपालमा आफ्नो कम्पनी विस्तार सँगै आफै उद्योग सञ्चालनमा ल्याएर सयौँलाई रोजगारी समेत दिएको छ ।
आरआर क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन हुने
काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा यही चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते निर्वाचन गर्ने निर्णय भएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस प्रमुख पद्म कुमार अधिकारीका अनुसार मतदान मात्रै रोकिएकाले अन्य तयारी पूरा भइसकेको छ । चैत ५ गते हुनुपर्ने निर्वाचन अन्तिम समयमा विद्यार्थीले ताला लगाएपछि स्थगित भएको थियो । यस क्याम्पसमा ५ हजार १ सय ४६ मतदाता रहेका छन् ।
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९शुक्रबार० सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७६ हजार रुपैयाँमा मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालले सिंगापुरलाई हरायो
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई हराएको छ ।
सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थानमा माथि रहेको सिंगापुरलाई १९० ले पराजित गरेको हो । नेपालको जितका लागि जिलेस्पी जंग कार्कीले एक गोल गरे ।
नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग खेल्नेछ ।
पाकिस्तानमा सैन्य कारबाहीमा १० जना आतङ्ककारी मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश जना आतङ्ककारी मारिएको सेनाले शुक्रबार जानकारी दिएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
तीव्र गोलीबारीका क्रममा, अगाडिबाट आफ्नो सेनाको नेतृत्व गरिरहेका पाकिस्तानी सेनाका एक अधिकारी क्याप्टेन हसनैन अख्तर वीरतापूर्वक शहीद भएका विज्ञप्तिमा थपिएको छ ।
आईएसपीआरले उत्तरी वजिरिस्तानमा चार छुट्टाछुट्टै भिडन्तमा छ जना आतङ्ककारी मारिएको बताएको छ ।आईएसपीआरका अनुसार, आतङ्ककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।
यस क्षेत्रमा अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन सेनाले अभियान सञ्चालन गरेको छ । सेनाले पाकिस्तानबाट आतङ्कवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ ।
