फ्रान्सेली लिगमा पिएसजीको पोस्टमा ‘साम्बा’ को दुई गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) विरुद्ध दुई गोल गर्दै आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेकी छिन् ।

शनिबार सम्पन्न लिग १ को खेलमा साम्बाको टोली अभान्ट ग्वेन्ग्याम्पले पिएसजीसँग ६-२ को हार बेहोरेको थियो । यद्यपि, व्यक्तिगत रूपमा साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै ५८औं र ८८औं मिनेटमा गोल गर्दै आफ्नो प्रभाव छोडिन् ।

खेलको शुरुवातमा पिएसजीले २२औं मिनेटमै सकिना कार्चाउईको क्रसमा ग्रेस ग्योरोको गोलमार्फत अग्रता लिएको थियो । ५२औं मिनेटमा मर्भिले कान्जिङ्गा नागुन्जीले दोस्रो गोल थपिन् ।

५८औं मिनेटमा साम्बाले एनाइस रिबेराको पासमा गोल गर्दै ग्वेन्ग्याम्पका लागि पहिलो गोल फर्काइन् । तर, पिएसजीले थप पाँच गोल गर्दै आफ्नो अग्रता फराकिलो बनायो । ८८औं मिनेटमा साम्बाले नाओमी एन्डोआह इटोको पासमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

हाल ग्वेन्ग्याम्प रेलिगेसन जोनमा रहँदै लिग १ मा संघर्षरत छ । १८ खेलबाट पिएसजी ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने ग्वेन्ग्याम्पले मात्र ३ अंक जोड्न सकेको छ । साम्बाको हालसम्मको लिग प्रदर्शन उत्साहजनक रहेको छ, जसमा उनले तीन गोल गरिसकेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *