उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद

काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट करिब १५ करोड रुपैयाँ नगद फेला परेपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा सरुवा गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार, मुख्य न्यायाधीश (सीजेआइ) सञ्जीव खन्नाले यस विषयमा जानकारी पाएपछि पाँच सदस्यीय कलेजियमले तात्कालिक बैठक बोलाएर सरुवाको प्रस्ताव पारित गरेको हो ।

होलीको बिदामा न्यायाधीश वर्माको सरकारी बंगलामा आगलागी भएको थियो। सो समयमा उनी घरमा थिएनन् । परिवारका सदस्यहरूले तुरुन्तै दमकल विभागलाई खबर गरे, जसले आगो नियन्त्रणमा लिने क्रममा बंगलाभित्र ठूलो मात्रामा नगद भेटाएको थियो। सो नगद फेला परेको घटनाले न्यायपालिकाभित्र चर्चा पाएको छ ।

नगद भेटिएको घटनापछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ, तर यो औपचारिक आन्तरिक छानबिन भने होइन । अनुसन्धान पूरा भएपछि दिल्ली उच्च अदालतले प्रारम्भिक प्रतिवेदन कलेजियमलाई बुझाउनेछ। यद्यपि, सर्वोच्च अदालतको वेबसाइटमा सरुवासम्बन्धी कुनै जानकारी अपलोड गरिएको छैन ।

उता, दिल्ली हाईकोर्ट बार एसोसिएसनले कलेजियमको निर्णयप्रति असन्तुष्टि जनाउँदै विरोध जनाएको छ । उनीहरूले आपत्ति जनाउँदै प्रश्न उठाएका छन्, ‘के हामी डस्टबिन हौं ?’ कलेजियमको निर्णयले न्यायाधीश वर्माविरुद्धको अनुसन्धानलाई थप गम्भीर बनाएको देखिन्छ ।

सर्वोच्च अदालतले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । न्यायालय भित्रै उठेका प्रश्नहरूबीच कलेजियमको निर्णयले आगामी दिनमा नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *