खबर दिनभर : सबै माओवादी पार्टीको झण्डामुनि एकताबद्ध गरिने देखी पूर्वराजालाई चेतावनीसम्म

भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षणमा राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा उत्पन्न हुनसक्ने जलसङ्कटको चुनौतीलाई दृष्टिगत गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिएका छन् ।

विश्व पानी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण एवं सहरी क्षेत्रमा वर्षात्को पानी पुनर्भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्नेमा जोड दिएका हुन् ।

‘प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरी जलाशययुक्त योजनाको तर्जुमा गर्न आवश्यक छ’, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।

पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको, जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए पनि वर्तमानमा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण चुनौतीपूर्ण बनेको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिकीय प्रणालीलाई दिगो र नदीको बहावलाई व्यवस्थित बनाउन तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणसँगै सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउँछ ।’

उनले बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेकामा चिन्ता व्यक्त गरेका छन् ।

‘भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाको कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ । अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ’ सन्देशमा भनिएको छ ।

राष्ट्रपतिले जलस्रोत र नदी प्रणालीको संरक्षण गर्दै समयमै पूर्वसूचना प्रणालीको मद्दतबाट प्राकृतिक विनास तथा जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरे । उनले पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउन थालिइएको हो । यसवर्ष ‘हिमनदी संरक्षण’ नाराका साथ आज देशका वभिन्न भागमा चेतनामूलक विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।

सङ्घीयता विरोधी गतिविधि भइरहेका छन्, परास्त गरौँ : नारायणकाजी श्रेष्ठ

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन जरूरी रहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उनले सङ्घीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक रहेको बताएका हुन् ।

नेकपा ९माओवादी केन्द्र० का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनताको नजिक रहेको स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । संविधानले स्थानीय तहलाई बलियो बनाउने व्यवस्था गरेको भन्दै उहाँले जनताका आधारभूत आवश्यक पूरा गर्न गम्भीर भएर लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने,“सङ्घीय व्यवस्थालाई थप सबल र सरल बनाउनुपर्छ । तीनै तहका सरकारलाई बलियो र मजबुत बनायौँ भने मात्रै नागरिकले सङ्घीयताको अनुभूति गर्न सक्छन् । यसमा केन्द्र सरकारले आवश्यक सहयोग र सहजीकरढा गर्नुपर्छ । स्थानीय तहलाई थप बलियो बनाउन समानुपाति ढङ्गले बजेट व्यवस्थापन तथा वितरणमा ध्यान दिनुपर्छ ।”

सरकारले सङ्घीयताको आभास हुने गरी सेवा प्रवाहलाई प्रभावकारी गराउनु पर्नेमा उनले जोड दिए।

दलितको घर भत्काउने पालिका अध्यक्षसहित तीन जना विरुद्ध जाहेरी, कारबाही प्रक्रिया अघि बढाइयो

सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए । उनले भने,“पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ । यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ ।”

दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मरिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ ।

औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

घटनामा सङ्लग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ । बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका, घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातिय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।

घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार मन्त्रालय तानिसकेको छ । त्यसैगरी राष्ट्रय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले समेत घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेर अनुसन्धान अगाडि बढाएका छन् ।

पूर्वराजा शाहलाई सांसद निधिको चेतावनी – आफ्नो सीमा बुझ्नुहोला

नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले राजतन्त्र अब नफर्किने बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भएपनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताए । उनले अरू देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्नेकुरा आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्ने बताए ।

उनले राजतन्त्र अस्वीकृत भइसकेको बताए । उनले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताए । गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने जिकिर गरे ।

उनले भने ‘अरू देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरूको कस्तो दुर्गति भएको छ नमान्दाखेरी त्यो इतिहासमा प्रमाणित छ । त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्यो । तत्कालीन राजाले । राजा अपदस्त भइसकेको मात्रै होइन, अस्वीकृत भइसकेको छ । नेपालमा राजतन्त्र समाप्त भइसकेको छ । नेपालमा जनताद्वारा निर्वाचित सार्वभौम संसदद्वारा राजतन्त्र अस्वीकृत भइसकेको छ । रिजेक्टेड भइसकेको छ । र ज्ञानेन्द्र अन्तिम राजा हो । गणतन्त्र आइसकेपछि हाम्रै जिल्लाको डा। रामवरण यादव प्रथम राष्ट्रपति हो गणतन्त्रको । कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ । यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन । नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन् । सबै बोलिरहेका छन् । तर नेपालमा म भन्छु, नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन । मानिसहरु जति कराए पनि अब आउनेवाला छैन । नेपाल जे हो, पृथ्वीनारायण शाहको पालादेखि बन्यो । छोटा छोटा राज्यलाई बिस्तार गरेर पृथ्वीनारायण शाहले बनाउनु भयो । त्यसैले पृथ्वीनारायण शाहलाई सम्मान गरिन्छ । तर पछि राजा रजौटामा, प्रधानमन्त्रीमा शक्तिको लोभ आउन सुरु भयो । राजालाई कमजोर बनाएर राणा प्रधानमन्त्रीहरूले १०४ वर्ष शासन गरे । जनताले साथ दिएर मात्रै यो नेपाल बनेको हो । राजाले मात्रै केही गर्न सक्दैन ।’

सांसद निधिले देशको मालिक जनता भएकाले व्यक्ति देशको मालिक बन्न नसक्ने बताए । उनले सार्वभौम सत्ता अब जनतामा निहित रहेको बताए ।

प्रचण्डको उद्घोष – सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताएका छन् ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत आज आयोजित जागरणसभामा उनले भने ‘विसं २०८४ को निर्वाचनमा माओवादीहरु र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ ।’

उनले अब माओवादी २०६४ सालमा हासिल गरेको चुनावी परिणम पुनः प्राप्त गर्नेतर्फ लागेको, आम जनतामा माओवादी केन्द्र एक्लै हिँड्न सक्दैन भन्ने भाष्य चिर्दै अघि बढ्ने बताए । माओवादी कमजोर हुँदा प्रतिगामी तत्व सल्वलाएका उनको तर्क थियो ।

आफूहरु पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताउँदै उनले देशको विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुन आवश्यक रहेको छ भने । माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको अभियानका क्रममा आफूले महसुस गरेको बताउँदै उनले जनताको माग सम्बोधन गर्ने दल माओवादी केन्द्र भएको दोहोर्याए ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले युगान्तकारी परिवर्तनका लागि माओवादी केन्द्र आवश्यक छ भन्दै नेपाली जनताको भरोसा माओवादी केन्द्रप्रति रहेको बताए । पार्टीका अर्का उपाध्यक्ष पम्फा भुसालले देशको विकासका निम्ति सुशासन अपरिहार्य भएको बताए ।

त्यस अवसरमा माओवादी केन्द्रका सचिव हितमान शाक्य, चितवन इञ्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीले अभियानका क्रममा पार्टीका शुभचिन्तक एवं कार्यकर्ताबाट प्राप्त सुझाव माओवादी केन्द्रका निम्ति अमूल्य छन् भने ।

देशमा शान्ति चाहिएको छ, कसैले कसैको कुभलो नचिताओस् : पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको शान्ति कायमै होस् भनेर कामना गरेका छन् ।

शनिवार गोरखकाली मन्दिरमा पूजाअर्चना गरे पश्चात् उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो कामना गरेका हुन् । उनले कोही पनि केही गर्नलाई पनि डराउनु नपर्ने बताए ।

उनले भने ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन । देशको शान्ति कायमै होस् । देशमा सुख होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ ।’

उनले देशमा शान्ति चाहिएको भन्दै कसैले कसैको पनि कुभलो नाचिओस् भन्ने कामना गरेका छन् ।

भन्छन् ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ ।’

पूर्वराजा शाह आज बिहान १० बजे गोरखा पुगेर करिब २ घण्टासम्म गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।

फ्रान्सेली लिगमा पिएसजीको पोस्टमा ‘साम्बा’ को दुई गोल

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन क्लब पेरिस सेन्ट(जर्मेन ९पिएसजी० विरुद्ध दुई गोल गर्दै आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेकी छिन् ।

शनिबार सम्पन्न लिग १ को खेलमा साम्बाको टोली अभान्ट ग्वेन्ग्याम्पले पिएसजीसँग ६(२ को हार बेहोरेको थियो । यद्यपि, व्यक्तिगत रूपमा साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै ५८औं र ८८औं मिनेटमा गोल गर्दै आफ्नो प्रभाव छोडिन् ।

खेलको शुरुवातमा पिएसजीले २२औं मिनेटमै सकिना कार्चाउईको क्रसमा ग्रेस ग्योरोको गोलमार्फत अग्रता लिएको थियो । ५२औं मिनेटमा मर्भिले कान्जिङ्गा नागुन्जीले दोस्रो गोल थपिन् ।

५८औं मिनेटमा साम्बाले एनाइस रिबेराको पासमा गोल गर्दै ग्वेन्ग्याम्पका लागि पहिलो गोल फर्काइन् । तर, पिएसजीले थप पाँच गोल गर्दै आफ्नो अग्रता फराकिलो बनायो । ८८औं मिनेटमा साम्बाले नाओमी एन्डोआह इटोको पासमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

हाल ग्वेन्ग्याम्प रेलिगेसन जोनमा रहँदै लिग १ मा संघर्षरत छ । १८ खेलबाट पिएसजी ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने ग्वेन्ग्याम्पले मात्र ३ अंक जोड्न सकेको छ । साम्बाको हालसम्मको लिग प्रदर्शन उत्साहजनक रहेको छ, जसमा उनले तीन गोल गरिसकेकी छिन् ।

अमेरिकाद्वारा पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज

संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आगामी बर्षको जनवरीसम्म लागु हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले अक्टोबर २०२२ मा सुरु गरेको एक योजना अन्तर्गत संयुक्त राज्य अमेरिका आएका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकहरूलाई प्रभावित गर्नेछ ।

अमेरिकी गृहमन्त्रालयको आदेश सङ्घीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि उनीहरूले आफ्नो कानुनी सुरक्षा गुमाउनेछन्। यसको अर्थ यो कार्यक्रमद्वारा प्रायोजित आप्रवासीहरूले अप्रिल २४ सम्ममा ‘संयुक्त राज्य अमेरिका छोड्नुपर्छ’ जबसम्म उनीहरूले देशमा रहन अनुमति दिने अर्को आप्रवासन स्थिति प्राप्त गर्दैनन्, आदेशमा भनिएको छ ।

संयुक्त राज्य अमेरिकामा शरण लिन चाहनेहरूलाई समर्थन गर्ने गैरनाफामुलक संस्था वेलकम डट युएसले कदमबाट प्रभावित भएकाहरूलाई ‘तुरुन्तै’ अध्यागमन वकिलको सल्लाह लिन आग्रह गरेको छ ।

सन् २०२३ को जनवरीमा घोषणा गरिएको क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकका लागि ९सीएचएनभी० कार्यक्रमले मानव अधिकारको गम्भीर अभिलेख भएका यी चार मुलुकबाट प्रतिमहिना ३० हजार आप्रवासीलाई दुई वर्षका लागि अमेरिका प्रवेशको अनुमति दिएको थियो ।

बाइडेनले यो योजनालाई अमेरिका र मेक्सिकोको भीडभाड हुने सीमामा दबाब कम गर्ने ‘सुरक्षित र मानवीय’ तरिकाको रूपमा व्याख्या गर्नुभएको थियो । गृहमन्त्रालयले शुक्रबार यो योजना ’अस्थायी’ भएको बताएको छ ।

आदेशमा भनिएको छ, “प्यारोल स्वाभाविक रूपमा अस्थायी हो, र प्यारोल मात्र कुनै पनि अध्यागमन स्थिति प्राप्त गर्नका लागि अन्तर्निहित आधार होइन, न त यो संयुक्त राज्य अमेरिकामा प्रवेश हो ।”क्यालिफोर्नियाका अध्यागमन वकिल निकोलेट ग्लेजरका अनुसार यो आदेशले सीएचएनभी योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका ५० लाख आप्रवासीमध्ये अधिकांशलाई असर गर्नेछ ।

“यसका लागि ‘केवल ७५ हजार शरण आवेदनहरू कानुनी रूपमा दायर गरिएको थियो, त्यसैले सीएचएनभी प्यारोलहरूको विशाल बहुमतले आफूलाई स्थिति, वर्क परमिट र निष्कासनको लागि योग्य ठहर गर्नेछ,” उहाँले एक्समा पोस्ट गर्नुभएको छ ।

ट्रम्पले गत साता भेनेजुएलाको एक गिरोहका २०० भन्दा बढी कथित सदस्यलाई एल साल्भाडोरमा उडाउने दुर्लभ युद्धकालीन कानुन लागू गर्नुभएको थियो । वासिङ्टनका नेता निकोलस मदुरोको नेतृत्वमा तेलको धनी भेनेजुएलाको अर्थतन्त्र धरासायी भएपछि पछिल्लो एक दशकमा ७० लाखभन्दा बढी भेनेजुएलावासीले आफ्नो देश छाडेका छन् ।

भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : नरेन्द्र मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्‍याएका छन् ।

पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताकालागि जल स्रोतको संरक्षण गर्न आग्रहसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका हुन् ।

यसैबीच, जलशक्ति मन्त्रालय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र हरियाणा सरकारको सहकार्यमा विश्व जल दिवसको अवसरमा शनिबार ‘जल शक्ति अभियान स् ‘जलको सञ्चय–२०२५’ सुरु गर्ने तयारी गरेको छ ।

जल शक्ति मन्त्रालयका अनुसार अभियानले ‘पानी संरक्षणका लागि तीब्र सामुदायिक पहल’माथि जोड दिएको छ ।

अभियानले जलवायु परिवर्तन र बढ्दो जलजन्य चुनौतिको सामना गर्न जल सुरक्षा, वर्षाबाट आउने पानीको सञ्चयलगायतलाई जोड दिएको छ ।

अभियानले एक सय ४८ जिल्लामा सरकारी निकाय समुदाय तथा हितग्राहीहरू बीच पानीको दिगो व्यवस्थापन गर्ने समन्वयलाई बढावा दिन्छ ।

अभियानको उद्देश्य ‘हरेक थोपा गणना’ को दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्दै जल संरक्षणका लागि राष्ट्रव्यापी चेतना र कार्यहरू चलाउनु हो ।

अभियानले नागरिकलाई जलजन्य समस्या समाधानमा सहकार्यको माध्यमबाट भारतको पानीको भविष्य सुरक्षित गर्न आह्वान गरेको छ । सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ लाई संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा वार्षिक रुपमा विश्व जल दिवसका रूपमा मनाउँदै आइएको छ ।

लेबनानी राष्ट्रपतिद्वारा दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणको निन्दा

लेबनानका राष्ट्रपति जोसेफ औनले शनिबार दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा दुई जनाको ज्यान गएको र आठ जना घाइते भएको निन्दा गरेका छन् ।

लेबनानको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उहाँले इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी व्यापक द्वन्द्व निम्त्याएको आरोप लगाएका छन् ।

औनले ‘लेबनानमा जारी आक्रमण’ भनेर वर्णन गर्नुभयो र तिनीहरूले लेबनानलाई फेरि एक पटक हिंसाको चक्रमा धकेल्ने प्रयास गरेका बताए ।

उनले इजरायल र हिजबुल्लाह बीच सन् २०२४ सम्ममा अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको निरीक्षण गर्ने पाँच सदस्यीय समितिलगायत लेबनानी अधिकारीहरूलाई थप नतिजाहरू रोक्नको लागि ‘अत्यन्त गम्भीरता’का साथ तनावलाई सम्बोधन गर्न आग्रह गरे ।

राष्ट्रपतिले लेबनानको ‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गर्दै सर्वसाधारणको सुरक्षा गर्न र आक्रमणको अनुसन्धान गर्न सेना कमाण्डर रोडोल्फ ह्याकललाई निर्देशन दिए ।

लेबनानमा संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (युनिफिल) ले हिंसाप्रति चिन्ता व्यक्त गरेको छ । “हामी सबै पक्षहरूलाई कमजोर स्थिरतालाई जोखिममा पार्न सक्ने कार्यहरूबाट टाढा रहन जोडदार आग्रह गर्दछौं,” प्रवक्ता एन्ड्रिया टेनेन्टीले बताए । साथै, युनिफिलले तनाव कम गर्न शान्ति सेनाले गस्ती गरिरहेको बताएको छ ।

युद्धविरामले विवादित लेबनानी क्षेत्रबाट इजरायली सेना फिर्ता हुने कुरा तोकेको थियो, तर इजरायली सेनाले फेब्रुअरी १८ को समयसीमा पछि पनि सीमा चौकीहरू कब्जा गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *