गाजामा इजरायली हवाई आक्रमण : हमासका शीर्ष नेता बर्दाविल मारिए

काठमाडौं । गाजाको दक्षिणी भूभाग खान युनिसमा इजरायली हवाई आक्रमणको चपेटामा पर्दै हमासका एक उच्चस्तरीय राजनीतिक नेता सलाह अल बर्दाविलको मृत्यु भएको छ । आक्रमणका क्रममा बर्दाविलसँगै उनकी श्रीमतीले पनि ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बर्दाविल हमासको राजनीतिक समितिका एक प्रमुख सदस्य थिए । इजरायली आक्रमणमा उनको निधन भएको कुरा हमासका अधिकारीहरूले पुष्टि गरेका छन् । हमासका प्रेस सल्लाहकार तहिर अल नोनोले आफ्नो फेसबुक पेजमार्फत बर्दाविलप्रति श्रद्धाञ्जली अर्पण गर्दै गहिरो शोक व्यक्त गरेका छन् ।

गाजामा पछिल्लो दुई महिनापछि इसराइलले ठूलो मात्रामा आक्रमण गरेको हो । इसराइल र हमासबीच युद्धविरामको विषयमा सहमति नभएपछि इसराइली सेनाले हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र पार्दै आकाश र जमिन दुवैबाट हमला गरेको हो ।

गत मंगलबारदेखि भएका तीव्र आक्रमणमा सयौंले ज्यान गुमाएका छन् । मंगलबार मात्रै ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आइतबार बिहान गजाको उत्तरी भागमा ठूला विस्फोटका आवाजहरू सुनिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार एक घन्टाभन्दा बढी समय आकाशमा इसराइली युद्धविमानको गडगडाहट सुनिएको थियो ।

युद्धविरामका कारण लाखौं मानिस गाजामा फर्किएका थिए । तर, आक्रमण फेरि सुरू भएपछि धेरै प्यालेस्टिनीहरू छिमेकी मुलुकहरूतर्फ भाग्न थालेका छन् । इजरायलले हमासलाई दबाब दिनका लागि खाद्यान्न तथा मानवीय सहायता सामग्री बोकेका ट्रकहरूलाई सीमानामा रोकेको थियो ।

४२ दिनसम्म युद्धविराम कायम रहे पनि दोस्रो चरणको युद्धविरामबारे सहमति हुन नसक्दा इजरायली सेनाले पुनः ठूलो आक्रमण थालेको हो । अमेरिकाको आग्रहमा इजरायलले युद्धविराम लम्ब्याउने प्रस्ताव गरेको भए पनि हमासले दोस्रो चरणको युद्धविराम सुरु हुनुपर्ने अडान लिएको थियो, जसका कारण हिंसा फेरि चर्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *