एकैदिन सडकमा उत्रिँदै गणतन्त्र र राजावादीहरु, सुरक्षा संयन्त्र सतर्क

काठमाडौं । काठमाडौंमा चैत १५ गते राजनीतिक माहोल तात्ने देखिएको छ । एकातिर, राजावादीहरू उत्साहित हुँदै सडक प्रदर्शनको तयारीमा जुटिरहेका छन् भने अर्कोतिर, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)सहितका समाजवादी घटकहरूले समेत शक्ति प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको परिप्रेक्ष्यमा दुबै पक्षले एकैदिन राजधानीमा प्रदर्शन गर्न लागेको कारण सुरक्षाकर्मीहरू सतर्क बनेका छन् । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा व्यापक प्रदर्शनको तयारी गरेको छ । गणतन्त्र पक्षधर शक्ति एकजुट भएर सडकमा उत्रन लागेका छन् । यसै दिन, राजसंस्थाको पुनर्स्थापनाका लागि अभियान चलाइरहेको दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि राजधानीमा विरोध प्रदर्शन गर्ने योजना बनाएको छ । यसले राजनीतिक वातावरण तनावग्रस्त बन्न सक्ने सम्भावना बढाएको छ ।

राजनीतिक प्रदर्शनहरूमा अप्रत्याशित घटना घट्न सक्ने भएकाले सुरक्षाकर्मीहरूले व्यापक सतर्कता अपनाएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीका तीनवटा जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उच्च सतर्क रहन निर्देशन दिएको छ । सुरक्षा संयन्त्रले समाजवादी मोर्चाको प्रदर्शनमा अनावश्यक घुसपैठ हुनसक्ने भन्दै गोप्य निगरानी बढाएको छ ।

तीनवटै प्रहरी परिसरका अधिकारीहरूलाई आ-आफ्नै स्रोत परिचालन गरेर राजनीतिक गतिविधिहरू निगरानी गर्न भनिएको छ । प्रहरी स्रोतका अनुसार, कुनै पनि अप्रिय घटना हुन नदिन, प्रदर्शनको प्रकृति र सम्भावित असरबारे गहन अध्ययन भइरहेको छ । राजनीतिक गतिविधिहरूले काठमाडौंको सुरक्षा अवस्थालाई अस्थिर तुल्याउने जोखिम रहेकोले विभिन्न सुरक्षा निकायहरूबिच समन्वयात्मक निगरानी बढाइएको हो ।

चैत १५ गतेको प्रदर्शनलाई लिएर आम सर्वसाधारण नागरिकहरू भने चिन्तित छन् । दैनन्दिन जीवनमा अवरोध नहोस् भन्ने उनीहरुको अपेक्षा छ । राजनीतिक दलहरूका प्रदर्शनले राजधानीको ट्राफिक व्यवस्थापनमा समेत असर पार्नसक्ने भएकाले ट्राफिक प्रहरीले समेत विशेष योजना बनाइरहेको छ ।

राजनीतिक माहोलको संवेदनशीलता र सुरक्षासम्बन्धी चासोलाई ध्यानमा राख्दै, सुरक्षा अधिकारीहरूले आवश्यक परे थप सुरक्षा बल परिचालन गर्ने तयारी समेत गरिरहेका छन् । चैत १५ को दिन काठमाडौंका मुख्य क्षेत्रहरूमा सुरक्षा उपस्थिति बढाइनेछ र प्रदर्शनकारीहरूको गतिविधि निगरानीमा राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *