पीएन क्याम्पसमा १६ वर्षपछि स्ववियु चुनाव, जोगिएला अनेरास्ववियुको विरासत ?


काठमाडौं । पोखराको प्रतिष्ठित पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । लामो समयदेखि विवादकै कारण रोकिएको निर्वाचन अन्ततः आज सम्पन्न हुने चरणमा पुगेको छ ।
चैत ५ गते तय गरिएको मतदान प्रक्रिया विवादका कारण स्थगित हुन पुगेको थियो, जसका कारण चैत १० गते पुनः चुनाव गराउने निर्णय भयो । प्रारम्भिक चरणमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ, र आज बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ । निर्वाचन अधिकृत प्राध्यापक डा. रामचन्द्र पोखरेलका अनुसार ७ हजार ४ सय विद्यार्थीले मतदानका लागि भोटिङ कार्ड प्राप्त गरिसकेका छन् ।
पीएन क्याम्पसमा विगतदेखि नै एमाले निकट अनेरास्ववियु हावी हुँदै आएको छ । यसपटक पनि अनेरास्ववियुले आफ्नो प्रभाव जोगाउने प्रयास गरिरहेको छ भने अन्य संगठनहरू र स्वतन्त्र उम्मेदवारहरू सशक्त चुनौती दिइरहेका छन् ।
यो क्याम्पसका स्ववियु सभापतिहरूले राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका छन् । पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री पदम गिरी, पोखराका मेयर धनराज आचार्य, नेता राजीव पहारी, राजनीतिक विश्लेषक झलक सुवेदीलगायत यहींबाट स्ववियु सभापति निर्वाचित भएका थिए ।
यसपटक सभापति पदका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा छन्। अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, र अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल उम्मेदवार बनेका छन् । अखिल छैटौँबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, तथा स्वतन्त्र रूपमा विप्लवी न्यौपाने र कमल सुवेदी प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीहरूले स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेलाई समर्थन गरिरहेका छन् । साथै, कास्कीमा माओवादी केन्द्रको गुटगत राजनीतिले विद्यार्थी चुनावमा प्रभाव पार्ने देखिएको छ ।
