ससुराली हिँडेका २५ वर्षीय शिवशंकरको हत्या


काठमाडौं । धनुषामा एक युवकको अपहरणपछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८, दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको शव महोत्तरीको गौशाला नगरपालिका-८, सागरनाथ वनमा फेला परेको हो ।
शव रेल्वे ट्रयाकबाट करिब १०० मिटर दक्षिणमा नग्न अवस्थामा भेटिएको थियो । मृतकको शरीरमा खुकुरी आक्रमणका गहिरा घाउहरू देखिएको प्रहरीले बताएको छ । शव शुक्रबार साँझ फेला परे पनि शनिबार मात्र उनको पहिचान खुलेको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा महोत्तरी प्रहरीले यो हत्या योजनाबद्ध भएको हुनसक्ने आशंका गरेको छ ।
शिवशंकर बिहीबार दिउँसो आफ्नी श्रीमती सिर्जना र १० महिने छोरासहित ससुराली बर्दिबास नगरपालिका-५, पशुपतिनगर बन्द्र जाँदै थिए । उनीहरू महेन्द्रनगरसम्म एउटै मोटरसाइकलमा पुगेका थिए, त्यसपछि सिर्जनाले माइतबाट दुई वटा मोटरसाइकल मगाएकी थिइन् । एकमा सिर्जना छोरासहित गइन् भने अर्कामा शिवशंकर चढेका थिए ।
शुक्रबार, महोत्तरी प्रहरीबाट आएको फोनपछि मात्र परिवारले शिवशंकरको हत्या भइसकेको जानकारी पाए । मृतकका भाइ राम महतोका अनुसार, केही दिनअघि शिवशंकरको ससुरालीमा विवाद भएको थियो, जसका कारण उनी त्यहाँ फर्कन चाहँदैनथे । तर, सिर्जनाले ‘नाना बिते’ भन्दै उनलाई जान बाध्य बनाएको उनले बताएका छन् ।
