दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन् ।
आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।
उनले जिल्लाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गरे ।
उक्त घट्नाले ६० लाख दलित समूदायलाई अपमानित गरेको उनको भनाइ छ ।
उनले भने ‘दलितले बसोबास गरेको माटो अपवित्र हुन्छ भन्दै घर रहेको जमिनको माटो समेत खनेर फालिएको छ । म यो जघन्य अपराधको निन्दा गर्दछु । यो घट्नाले झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरेको छ । संविधान र कानूनको धज्जि उडाएको छ भने नेपाल र संसारभरी बसेर रहेका सभ्य नेपाली नागरिकको शीर लाजले झुकाउन बाध्य बनाएको छ । निर्वाचित जनप्रतिनिधिले यस्तो अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो पारिदिएको छ । घटनाको सत्यतथ्य छानविन गर्नको लागि संसदीय समितिको माग गर्दछु ।’
उनले निर्वाचित प्रतिनिधिले नै अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो भएको बताए ।
