बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव

नेपाल मण्टेश्वरी ट्रेनिङ सेन्टरको रजत जयन्ती भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल मण्टेश्वरी ट्रेनिङ सेन्टरको २५ औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

प्रिमियर इन्टरनेशनल आई.वि कन्टिन्युम स्कूलमा वार्षिकोत्सव तथा वार्षिक सम्मेलन सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको हो ।

कार्यक्रममा बाल शिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू, र सरोकारवालाहरू एकत्रित भई, एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मण्टेश्वरी शिक्षाको भावी मार्गचित्रबारे चर्चा गरिएको थियो ।

औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले मुख्य सम्बोधन गरेकी थिइन् । जसमा संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्‍याएको प्रभावबारे बताइन् ।

उनले मण्टेश्वरी शिक्षकहरूको अथक समर्पण र एनएमटीसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका हुनुपर्ने उल्लेख गरिन् ।

मण्टेश्वरी शिक्षाको आधारभूत दर्शनलाई उजागर गर्दै, उनले स्वतन्त्र, जिज्ञासु र आत्मविश्वासी बालबालिका तयार पार्ने एनएमटीसीको उद्देश्यलाई पनि पुनः पुष्टि गरेकी थिइन् ।

साथै, भविष्यमा प्रशिक्षण कार्यक्रम विस्तार गर्ने, आधुनिक शिक्षण प्रविधि समावेश गर्ने, तथा साझेदारीहरू सुदृढ गर्दै नेपालभर बाल शिक्षाको गुणस्तर सुधार गर्ने एनएमटीसीका लक्ष्यहरू पनि उनले प्रस्तुत गरिन् ।

कार्यक्रमका प्रधान अतिथि सभामुख देव राज घिमिरे ले एनएमटीसीको नेपालमा मण्टेश्वरी प्रशिक्षणको अगुवा भूमिका को प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।

सेतो गुराँसकी संस्थापक अगाथा पाख्रिन थापा ले पनि मण्टेश्वरी शिक्षाका आफ्ना अनुभवहरू प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गरिन् ।

उक्त समारोहमा बाल शिक्षामा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरू लगायत एनएमटीसी एलुम्नाई एक्सिलेन्स इन मण्टेश्वरी एजुकेशन लिडरसिप अवार्ड २०२५ ले संस्थाका पूर्व प्रशिक्षार्थीहरूलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रिमियर इन्टरनेशनल आइ.वि कन्टिन्युम स्कुलका आइविडीपि विद्यालय काउन्सलर तथा मनोवैज्ञानिक कर्णव प्रभाकरले न्यूरोडेभलपमेन्टल डिसअर्डर र प्रारम्भिक बाल विकासका विषयमा सेमिनार प्रस्तुत गरेका थिए ।

उनले अटिज्म स्पेक्ट्रम डिसअर्डर र भाषागत ढिलाइजस्ता न्यूरो डेभलपमेन्टल समस्याहरूको समयमै पहिचान तथा हस्तक्षेपको आवश्यकता बारे बताए ।

शिक्षकहरूले विविध आवश्यकताहरू भएका बालबालिकाका लागि समावेशी र सहयोगी सिकाइ वातावरण कसरी निर्माण गर्न सक्छन् भन्ने विषयमा व्यावहारिक अध्ययन प्रस्तुत गर्दै मण्टेश्वरी आधारित शिक्षण विधिहरू बालबालिकाको संज्ञानात्मक, सामाजिक, र भावनात्मक विकासका लागि कसरी प्रभावकारी हुन सक्छन् भन्ने स्पष्ट पारे ।

स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष तथा भाषिक-सुनाइ विशेषज्ञ नीलम लामा दाहालले बाल्यकालको भाषिक विकासका महत्वपूर्ण चरणहरू तथा भाषा वा सुनाइसम्बन्धी समस्या देखाउने सङ्केतहरू बारे छलफल गरिन् ।

साथै स्पिच थेरापी विधिहरू, अभिभावकहरूको भूमिका, र शिक्षण पद्धतिहरूमा प्रारम्भिक हस्तक्षेपको प्रभावकारिता सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरिन् । उनको सत्रले बाल्यकालमै सही हस्तक्षेप गरिएमा दीर्घकालीन भाषिक तथा सञ्चारसम्बन्धी समस्या रोक्न सकिन्छ भन्ने महत्त्वलाई पुष्टि गरिन् ।

२५ वर्षदेखि बाल शिक्षामा अतुलनीय योगदान दिँदै आएको एनएमटीसीले मण्टेश्वरी सिद्धान्तहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसले भविष्यका बालबालिकाहरूका लागि उज्ज्वल शिक्षा प्रणाली निर्माण गर्न मार्ग प्रशस्त गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *