खबर दिनभर : विवाहको उमेरबारे बहसदेखी पूर्वराजा ‘संवैधानिक राजा’ बन्न लायक नभएकासम्म


सुशासन र समतामूलक समाज निर्माणमा तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताएका छन् ।
नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले उपलब्ध स्रोतसाधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुने बताए ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गरे ।
उनले आगामी दिनमा नेपालको संविधानको मर्म र भावनाबमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअनुसारका काम कारबाही क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय तथा क्रियाशील रहने विश्वास लिएको बताए ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाइ राज्यप्रदत्त सेवामाथि सबैको पहुँच पुर्याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताएका छन् ।
आइतबार नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ मा सम्पदाति प्रमुख कार्यहरु समेटी तयार पारिएको सरकारको ९ औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको बताए । उनले बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको र मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको दाबी गरे ।
उनले नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटर लगायतका सेवाहरु मा घण्टौं लाइन लाग्ने अवस्थाको अन्त्य गरिएको बताए ।
राज्यका सेवा प्राप्त गर्न निकायपिच्छे वैयक्तिक विवरण पेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्न विभिन्न निकायका सेवा प्रणालीहरुबीच अन्तरआवद्धता गर्ने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।
वैदेशिक रोजगार तथा स्वदेशमा रहेका श्रमीकहरुको अधिकार संरक्षण एवं मिटरब्याज जस्तो सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारका तर्फबाट पहल कदमी भएको बताए ।
प्रधानमन्त्री ओलीले शघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले शुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल भएको बताउनु भयो । सले सरकारी सेवालाई झन्झट रहित र पारदर्शी बनाएको र यसमा ५० भन्दा बढी सेवा आवद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने,‘राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाइ राज्य प्रदत्त सेवामाथि सबैको पहुँच पुर्याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको छ ।नेपाल सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको छ । बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको छ । मल खरिद एवं आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालु आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको छ । नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटर लगायतका सेवाहरु मा घण्टौं लाइन लाग्ने अवस्थाको अन्त्य गरिएको छ । राज्यका सेवा प्राप्त गर्न निकायपिच्छे वैयक्तिक विवरण पेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्न विभिन्न निकायका सेवा प्रणालीहरुबीच अन्तरआवद्धता गर्ने प्रक्रिया शुरु गरिएको छ । वैदेशिक रोजगार तथा स्वदेशमा रहेका श्रमीकहरुको अधिकार संरक्षण एवं मिटरब्याज जस्तो सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारका तर्फबाट पहल कदमी भएको छ । शिघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले शुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल हो । जसले सरकारी सेवालाई झन्झट रहित र पारदर्शी बनाएको छ । यसमा ५० भन्दा बढी सेवा आवद्ध छन् ।’
प्रधानमन्त्री ओलीले सरकार प्रशासनिक तथा वित्तीय संघीयतालाई थप सुदृढ बनाउन विभिन्न सुधारका कार्यहरुमार्फत प्रयासरहत रहेको बताए । सरकारले वित्तीय संघीयताको कार्यान्वयनका लागि पारदर्शी र वस्तुष्ठि आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी वित्तीय हस्तान्तरणको व्यवस्था गरेको बताए ।
तीन तह बीचको कार्य विस्तृतिकरण स्पष्ट बनाउने विषय समेत उच्च प्राथमिकतामा राखेर अन्तिम रुप दिने कार्य भइरहेको बताए । जलविद्युत क्षेत्रको विकासमा उल्लेखनिय सुधार भएको बताए ।
यस अवधिमा विद्युत उत्पादन र प्रशारण लाइन बिस्तारसँगै अन्तरदेशीय विद्युत व्यापार गर्नसमेत नेपाल सफल भएको बताए । मुलुकको आर्थिक अवस्थामा देखापरेको असहज परिस्थिति अर्थतन्त्रको वाह्य र आन्तरिक क्षेत्रमा परेको दबाब कम गर्न सरकारले घनिभुत प्रयास गरिरहेको र केही उपलब्धी हाँसिल गरेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८०/०८१ सम्ममा ६८ वर्ष भन्दा माथिका १६ लाख ८९ हजार १९६ जना ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता र ८ लाख ३६ जना बालबालिकाले बाल संरक्षण अनुदान प्राप्त गरेको बताए ।
९९।९ प्रतिशत बालबालिका पूर्वप्राथमिक शिक्षामा भर्ना भएका र घरजग्गा स्वामित्व पुगेको महिला २५ प्रतिशत पुगेको बताए ।
ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक छैनन्, पार्टी खोलेर राजनीतिमा आउन् : शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापित एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् ।
आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । सभापति देयवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शाहलाई पार्टी सभापति बनाउन समेत देउवाले आग्रह गरे ।
‘कांग्रेस संविधान र गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध’
नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहने दृढता व्यक्त गरेको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसङ्गतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ विश्वास व्यक्त गरेको होे ।
बैठकले यही विश्वास साथ अघि बढ्नु नै अहिलेको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव डा।प्रदीप पराजुलीले जानकारी दिए। सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गर्नुभएको उनले बताए ।
जनसम्पर्क समितिमा दुई किसिमका सदस्य
बैठकले पार्टीको विदेशस्थित जनसम्पर्क समितिमा कांग्रेसको क्रियाशील सदस्यता र जनसम्पर्क समितिको सदस्यता गरी दुई किसिमका सदस्य रहने व्यवस्था गरेको कार्यवाहक मुख्यसचिव डा पराजुलीले बताए ।
नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भएबमोजिम क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुनसक्ने निर्णय गरिएको छ । उक्त व्यवस्थाअनुसार जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैरआवासीय नेपाली परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई बाधा नपुग्ने निर्णय गरिएको छ ।
यस्तै, जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको छ । यो व्यवस्था लागू हुनुपूर्व क्रियाशील सदस्यता प्राप्त गरेका त्यस्ता नागरिकहरूको हकमा निजहरूले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रूपान्तरित हुनेछ । साथै, निजले प्राप्त गरेको साविकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिने निर्णय भएको पराजुलीले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि सङ्ख्या तोक्दा एउटा देशबाट बढीमा १४ जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जनाभन्दा बढी तोक्न सक्ने व्यवस्था गरिएको छ ।
महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन क्रियाशील सदस्यता अनिवार्य
कांग्रेसले पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुन अनिवार्य क्रियाशील सदस्य हुनुपर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमावलीमा आवश्यक संशोधनसमेत गरेको छ ।
यसैगरी कांग्रेसले यही चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनको प्रतिस्पर्धामा धेरै क्याम्पसमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकामा नेपाल विद्यार्थी सङ्घलाई बधाई ज्ञापन गर्दै विजयी सम्पूर्ण विद्यार्थीलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न शुभकामना व्यक्त गरेको छ ।
पार्टीले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा स्थानीय दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध भएको उल्लेख गर्दै उक्त घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ ।
बैठकले नेपाली कांग्रेस(बिपी) को साधारण सदस्यतासमेत परित्याग गरी पार्टीमा समाहित हुनुभएका हरिबोल भट्टराई, पुष्पराज पराजुली, गोविन्द शर्मा पौडेललगायत १२ जनालाई पार्टीका विभिन्न पदमा गरिएको मनोनयनलाई अनुमोदन गरेको छ ।
आजको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महेन्द्र यादव र जीवन परियार तथा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महत, डा.शेखर कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा.नारायण खड्का, सुजाता कोइराला र एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
त्रिविका उपप्राध्यापकमाथि कुटपिट गर्ने रावल कारागार चलान
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले योगेन्द्र रावललाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको छ ।
चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।
उपप्रधानमन्त्री सिंहलाई बालेनले भने – मलाई हराउने नाममा देशलाई नहराउनुहोला
काठमाडौं महानगर प्रमुख बालेन शाहले उप्रपधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफुलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका छन् । महानगर प्रमुख शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ?मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी।एल।सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’
काठमाडौं आउँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना : एक जनाको मृत्यु, नौ घाइते
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नम्बरको हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५र२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिउ । उन्का अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।
हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दलितको घर भत्काएको प्रकरण : पालिका अध्यक्ष सहितलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि आज सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो ।
शुक्रबार पक्राउ परेका दुवै जनालाई आज जिल्ला अदालतबाट आवश्यक अनुसन्धानको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीय दीपक मल्लिकको घर भत्काइएको थियो ।
गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।
घटनामा संवेदनशील नभएको भन्दै गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार नै मन्त्रालय तानिसकेको छ । यसैगरी राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाको अनुसन्धान अगाडि बढाएका छन् । घटनामा सङ्लग्न बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए ।
नेप्से परिसूचक ५४ अङ्कको गिरावट
गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ ।
आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।
आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री हुँदा छ अर्ब ३२ करोड एक लाख ४१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ समूह एक दशमलव ४७, विकास बैंक दुई दशमलव ४२, वित्त दुई दशमलव ९९, होटल तथा पर्यटन दुई दशमलव २३, जलविद्युत् दुई दशमलव ३३, लगानी दुई दशमलव शून्य पाँच र जीवन बिमा समूह एक दशमलव ८५ प्रतिशतले घटेको छ ।
यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ४६, लघुवित्त दुई दशमलव ३६, म्युचुअल फण्ड शून्य दशमलव ६४, निर्जीवन बिमा दुई दशमलव शून्य सात, व्यापार दुई दशमलव ८५ र अन्य समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ७२ प्रतिशतले बढेको छ । बढी घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ४२ करोड छ लाख ३४ हजार नौ सय ८१ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ५४ हजार तीन सय ७१ कित्ता शेयर किनबेच भएको छ ।
आइतबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
इण्डियन प्रिमियर लिग : सनराइजर्स हैदरावादको विजयी सुरुवात
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले जित निकालेको छ ।
भारतको राजिव गान्धी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै विजयी भएको हो । जितसँगै हैदरावादले दुई अङ्क जोडेको छ ।
हैदरावादले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ४२ रनमा समेटियो । राजस्थानका लागि ध्रुव जुरेलले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे ।
यसैगरी सन्जु सामसनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन जोडे भने सिम्रन हेटमायरले ४२, शुभम दुबेले अविजित ३४ तथा नितेश राणाले ११ रन बनाए ।
हैदरावादका लागि हर्षल पटेल र सिमरजित सिंहले समान दुई दुई विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनाएको थियो । हैदरावादका लागि इशान किसनले ४७ बलमा ११ चौका र छ छक्काको मद्दतले अविजित एक सय छ रनको योगदान दिए । यसैगरी ट्रभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाए । हेनरिक क्लासनले ३४, नितिशकुमार रेड्डीले ३० र अभिषेक शर्माले २४ रन बनाए ।
राजस्थानका लागि तुषार देशपाण्डेले तीन विकेट लिए भने महेश तिक्क्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए ।
इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण
लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिवार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ ।
उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो । टाउलिन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर उपत्यका गाउँहरू नजिकैका क्षेत्रहरूमा आक्रमण गरिएको छ ।
टाउलिनमा रहेको एउटा आवासीय भवन ध्वस्त भएको छ ।
जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायली शहर मेतुलातर्फ प्रहार गरिएको रकेटलाई रोकेको बताएको थियो ।
