जनता उज्यालोबाट अन्धकारतर्फ जाँदैनन् : शङ्कर पोखरेल


विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अब नेपाली जनता उज्यालोबाट अन्धकारतर्फ जान नसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनको आइतबार विराटनगरमा उद्घाटन गर्दै उनले जनतामा देखिएको निरासालाई चिर्ने उद्देश्यका साथ गठित मुलुकका दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकारले देश र जनताका पक्षमा काम गरिरहेको बताए ।
राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको स्पष्ट गर्दै महासचिव पोखरेलले भने, “जब मुलुकमा समस्या आउँछ तब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्ने गर्दछ । यसरी बनेको शक्तिशाली सरकारले समस्याको समाधानसहित देशलाई राजनीतिक निकास दिन्छ ।”
एक अर्को प्रसङ्गमा उनले एकदलीय पञ्चायति शासनकालमा नेपाली जनताको नैसर्गिक अधिकार हनन भएको तथा आधारभूत आवश्यकताबाट आमजनता वञ्चित हुनुपरेको दृष्टान्त प्रस्तुत गर्दै लोकतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका आधारभूत आवश्यकता पूरा भई देश विकास निर्माणको बाटोमा अघि बढेको स्पष्ट गरे ।
