राजावादीको सक्रियता बढेपछि शीर्ष तीन दल मिलेर ‘गणतान्त्रिक मोर्चा’ बनाउने चर्चा


काठमाडौं । राजावादीको सक्रियता बढेपछि शीर्ष दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र मिलेर गणतान्त्रिक मोर्चा बनाउने तयारीको चर्चा भइरहेको छ । नेपालको राजनीतिमा पुनः राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको विषय चर्चामा आउन थालेपछि सत्ता पक्ष र प्रमुख विपक्षी दलहरूबीच गणतान्त्रिक मोर्चा निर्माणको चर्चा चल्न थालेको हो ।
सत्तारुढ कांग्रेस र एमालेका नेताहरूले गणतन्त्रको रक्षा गर्न आवश्यक परेमा सबै लोकतन्त्रवादी शक्ति एक हुने बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेताहरुकाअनुसार गणतान्त्रिक मोर्चा बनाउने प्रसंग उठेको स्वीकार्दै त्यसबारे ठोस छलफल हुन बाँकी छ । तर शीर्ष नेताहरूले भने तत्कालै त्यस्तो औपचारिक पहल नभएको दाबी गरेका छन् ।
देशमा बढ्दो असन्तोषका बीच राजनीतिक दलहरू परम्परागत लोकतान्त्रिक मूल्य तथा गणतान्त्रिक व्यवस्थाप्रति अझ मजबुत रूपमा उभिनुपर्ने आवश्यकता देखिएको विश्लेषण हुन थालेको छ । उसो त कांग्रेसको एक शुभेच्छुक संस्थाले सातै प्रदेशमा गरेको अन्तरक्रिया कार्यक्रममा ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने’ सुझाव आएको उल्लेख गरिएको छ । तर, नेपाली कांग्रेसले संविधानको धर्मनिरपेक्ष चरित्रप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रका लागि आफूलाई साथ दिन आग्रह गरेपछि गणतन्त्र समर्थक दलहरू झनै सचेत बनेका छन् । शाहको यो अभिव्यक्तिपछि सत्तापक्षीय नेताहरूले उनलाई कडा चेतावनी दिएका थिए । फागुन २५ गते शाह पोखराबाट काठमाडौँ फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा उल्लेख्य भिड जम्मा भएको थियो ।
राजसंस्था समर्थकहरूले उनलाई उत्साहका साथ निर्मल निवाससम्म पुर्याएका थिए । यस घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अन्य गणतन्त्रवादी नेताहरूले राजसंस्था पुनर्स्थापनाका पक्षधरहरूलाई चेतावनी दिएका छन् ।
अहिले राजसंस्था पुनर्स्थापनाका पक्षधरहरू समेत सक्रिय भइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य राजावादी समूहहरूले पञ्चायतकालीन राजनीतिज्ञ नवराज सुवेदीको नेतृत्वमा ‘जनआन्दोलन’ अघि बढाउने घोषणा गरेका छन् । त्यसको प्रतिकारमा माओवादीसहितका समाजवादी मोर्चाले गणतन्त्र पक्षमा विशाल सभा आयोजना गर्ने निर्णय गरेको छ । राजसंस्था समर्थक र गणतन्त्र समर्थक दुवै पक्षले राजधानीमा एकै दिन आआफ्ना कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
विकसित परिस्थितिले प्रतिगामी शक्तिहरू सलबलाएको भन्दै गणतन्त्र पक्षधर दलहरूबीच मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताइएको छ । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गणतन्त्रको रक्षा गर्न सहकार्यबारे प्रारम्भिक स्तरको कुराकानी भएको बताइन्छ ।
प्रधानमन्त्री ओलीले यसबारे छलफल गर्न आफ्ना मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्निप्रसाद खरेललाई जिम्मेवारी दिएका छन् । तर, खरेलले गणतान्त्रिक मोर्चाका विषयमा औपचारिक छलफल नभएको बताएका छन् । उनले आफ्नो प्रचण्डसँगको भेटघाट संक्रमणकालीन न्यायका विषयमा मात्र केन्द्रित रहेको तर्क गरे । तथापि, राजसंस्थावादी गतिविधि बढ्दै गएमा गणतन्त्र समर्थक शक्ति एकजुट हुने सम्भावना उच्च देखिएको छ ।
