स्ववियु निर्वाचन : ३ सय बढी क्याम्पसको नतिजा आयो, कहाँ कसले जिते ?


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ३०० भन्दा बढी कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । यसमध्ये ४२ वटा आंगिक क्याम्पस र २५० भन्दा बढी सम्बन्धनप्राप्त कलेजहरूमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो ।
त्रिविले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको थियो । उक्त मितिमा ३८ वटा आंगिक क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भए पनि अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाडौं र पृथ्वीनारायण क्याम्पस, पोखरामा हालै सम्पन्न भएको छ । यसअघि वीरगञ्ज नर्सिङ क्याम्पस र काठमाडौंको पद्मकन्या क्याम्पसमा पनि निर्वाचन सम्पन्न भइसकेको थियो ।
आइतबार दुई आंगिक क्याम्पसमा सम्पन्न निर्वाचनसँगै ४२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । प्राप्त नतिजाअनुसार नेविसंघले १६, अनेरास्ववियुले १३, अखिल (क्रान्तिकारी) ले १०, स्वतन्त्रले १ र समाजवादी विद्यार्थी युनियनले १ आंगिक क्याम्पसमा जित हासिल गरेका छन् । अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ भने पृथ्वीनारायण क्याम्पसको मतगणना अझै बाँकी छ ।
पद्मकन्या क्याम्पसमा नेविसंघकै बागी उम्मेदवार भूपी ऐरले जितेकी छन् । यद्यपि, उनले आफू स्वतन्त्र रूपमा रहने घोषणा गरेकी छिन् । यसअघि स्वतन्त्र रूपमा जितेका चितवन इन्जिनियरिङ क्याम्पसका प्रज्वल अधिकारी र केन्द्रीय प्राविधिक क्याम्पस, धरानका पेशलराज कार्की अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । समाजवादी विद्यार्थी युनियनले महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराजमा जित हात पारेको छ, जहाँ रञ्जित यादव अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सम्बन्धनप्राप्त कलेजहरूको नतिजामा नेविसंघले हालसम्म ११५, अनेरास्ववियुले १०३ र अखिल क्रान्तिकारीले ८५ कलेजमा स्ववियु जितेका छन् । क्रान्तिकारीले १० वटा आंगिक क्याम्पस पनि जितेको छ, जुन अघिल्लो दुई निर्वाचन (२०७३ र २०७९) को तुलनामा उल्लेखनीय वृद्धि हो। यसपटक उनीहरूले ६ वटा क्याम्पसमा एक्लै लडेका थिए भने २ वटामा गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका थिए । समाजवादी विद्यार्थी युनियनले महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा मात्र जित हासिल गरेको छ ।
हाल २० वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन बाँकी छ । तीमध्ये केहीमा निर्वाचनको नयाँ मिति तय भइसकेको छ भने केही क्याम्पसमा निर्वाचन अनिश्चित अवस्थामा रहेको छ । त्रिविले निर्वाचन रोकिएको क्याम्पसहरूमा तत्काल प्रक्रिया अघि बढाएर निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।

एक दम राम्रो
देश गुलामीकाे अवस्थामा छ, युवा बर्गजति विदेश पलायन छन्, फेरि अलिकता बचेका युवाहरु मध्ये याे के काे प्रतिस्पर्धा ? स्व. वि. यु. काे निर्वाचनमार्फत देशकाे उन्मुक्ति छ र ? याे भ्रम हाे, मुक्तिकाे लागि पढ्न लेख्न छाेडेर भ्रष्टाचार नेताको गुलामी हाे, याे राेकिनु आवश्यक छ र देशभित्र रहेका युवाहरु अवत बुझ र स्व-स्वास्थ, स्व-शिक्षा अनि स्व-राेजगारमा याेग्यताकाे आधारले प्राप्त गर्न सजग बन । देशको कायपलटमा नफस, मेरालागि यहि आग्रह छ ?