निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक : देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिई २५ लाख भन्दा बढीलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन जरुरी रहेको बताए ।
निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको र निर्माण व्यवसायी ऐन, कानुन तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्माण व्यवसायीहरूले झेलिरहेका भुक्तानी, निर्माण सामग्रीहरूमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
व्यावसायिक प्रवर्द्धनका लागि निर्माण व्यवसायीहरू प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको उल्लेख गरे । योजनाहरू तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको जिकिर गरे ।
सभापति देउवाले भने ‘विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा, विश्व अर्थतन्त्रमा नै समस्या आइरहेको अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिई २५ लाख भन्दा बढीलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक छ । निर्माण व्यवसायी ऐन, कानुन तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यसबाहेक यहाँहरूले झेलिरहनुभएका भुक्तानी, निर्माण सामग्रीहरूमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस समस्याको समाधानका लागि आफ्नो र पार्टीको तर्फबाट हामी लागिरहनेछौँ । व्यावसायिक प्रवर्द्धनका लागि निर्माण व्यवसायीहरू प्रविधिमैत्री हुनु, आजको आवश्यकता पनि हो । योजनाहरू तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु नै आजको मुख्य समस्या हो । यसका लागि निर्माण व्यवसायीहरूको प्रयास मात्र पर्याप्त हुँदैन । सरकारले पनि प्राथमिकता दिनुपर्छ भन्ने मेरो भनाइ छ । नेपाल निर्माण व्यवसायीहरूले नेपालमा मात्र नभएर विदेशमा उत्कृष्ट काम गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन हामीले सुरुङ मार्ग, रेल सेवा, जलविद्युत क्षेत्र लगायतका निर्माणमा पनि विशेष प्राथमिकता दिनुपर्ने टड्कारो आवश्यकता भएको छ ।’
सभापति देउवाले निर्माण व्यवसायीहरू विकासको संवाहक भएको बताए । अर्थतन्त्र गतिशील बनाउन आफ्नो–आफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने बताए ।
