कर्मचारीमा आह्वान

नेपाल स्काउट शुद्धीकरण अभियानले भन्यो – निर्देशकले संस्था कमजोर बनाएका छन्, साथ दिनुस्

कर्मचारीमा समान अवसरको कमी हुनुको मुख्य कारक तत्व निर्देशक भट्टराई भएकाले अभियानमा साथ दिन आग्रह

काठमाडौं । नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियानले कर्मचारीहरुलाई अभियानमा साथ दिन आग्रह गरेको छ ।

सोमबार नेपाल स्काउट शुद्धीकरण अभियानले एक विज्ञप्ति जारी गर्दै स्काउटमा कार्यरत कर्मचारीहरुमा सो आग्रह गरेको हो । नेपाल स्काउट शुद्धीकरण अभियानको पहिलो माग नै कर्मचारीको हकहित सम्बन्धी रहेको भन्दै अभियानमा साथ दिन आग्रह गरिएको हो ।

नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईको मनपरी तन्त्रका कारण संस्था कमजोर बन्न थालेपछि नेपाल स्काउट शुद्धीकरण अभियान भट्टराईमाथि छानविन गर्न माग गर्दै एघार दिनदेखी कार्यालय प्राङ्गणमै विरोध प्रदर्शन गरिरहेको छ ।

‘स्काउटको नाममा विभिन्न कार्यक्रम आयोजना गर्ने बहानामा आर्थिक हिनामिना,स्रोत साधनको दुरुपयोग तथा संस्थागत निर्णय प्रक्रियामा मनपरी गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । राष्ट्रिय प्रधान कार्यालयको प्रमुख कर्मचारीले संस्थागत उत्तरदायित्व पूरा गर्नुको साँटो विदेशी मुलुकहरुमा अनावश्यक भ्रमण,फजुल खर्च तथा निजी स्वार्थका गतिविधिमा संलग्न भएर संगठनलाई कमजोर बनाएका छन्,‘नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,नेपाल स्काउटभित्र पारदर्शी व्यवस्थापनको अभाव,कर्मचारी वर्गलाई समान अवसरको कमी हुनुको मुख्य कारक तत्व नेपाल स्काउट कार्यालय प्रमुख रुपमा कार्यरत हालको निर्देशक राम प्रसाद भट्टराई नै हुन् ।’

नेपाल स्काउट सबैको साझा सम्पत्ति रहेको बताउँदै यसलाई अनियमितताको चंगुलबाट मुक्त गराउन सबैको साथ आवश्यक पर्ने अभियानका संयोजक अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *