सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूको छलफल सुरु


काठमाडौं । सिंहदरबारमा शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू सहभागी छन् ।
उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहका अग्नि खरेलले जानकारी दिए ।
सत्ता गठबन्धनका दुई प्रमुख दल एमाले र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसबीचको यो बैठक संक्रमणकालीन न्यायसहित विभिन्न समसामयिक विषयमा केन्द्रित रहने अपेक्षा गरिएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति अझै बाँकी रहेको छ । यसका लागि आवश्यक सिफारिस समिति गठनको विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताहरू छलफल गर्न लागेका हुन् ।
सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने प्रतिबद्धता जनाउँदै आए पनि राजनीतिक दलहरूबीच सहमति नजुट्दा प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।
सिफारिस समिति गठन भइसकेपछि मात्र आयोगहरूमा पदाधिकारी नियुक्ति अघि बढ्ने भएकाले आजको बैठक निर्णायक बन्न सक्ने अनुमान गरिएको छ ।
