स्रोत नभएका र परिणाम नदिने योजना कटौती गरौँ : सभामुख घिमिरे


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
सोमवार सिंहदरबारमा आयोजित सोह्रौँ योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरू बजेटमा ल्याउन नहुने बताए । उनले उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने बताए । आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरू ल्याउनु पर्ने उनको भनाइ छ । उनले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरू बन्द गर्नुपर्नेमा जोड दिए ।
उनले भने ‘हामी आत्मनिर्भरताको बाटोमा गइरहेका छैनौँ, त्यस ढंगले विकास गर्ने हिसाबले गइरहेका छैनौँ । अब नेपालले के सोच्नै पर्छ भने भौतिक पूर्वाधारको अतिरिक्त म्यानपावर राम्रो उत्पादन गर्ने त्यो मेन पावरलाई देश विकास गर्ने काममा सहजीकरण गर्ने र उसले यहाँ बसेर राष्ट्रिय उत्पादन गर्ने, उत्पादकत्व बढाउने र व्यापार घाटा नियन्त्रण गर्दै जाने आत्मनिर्भरताका आधारहरू बनाउने यो क्षेत्रमा जानका लागि विशेष योजनाहरू बनाइनुपर्छ । विशेष बहस र छलफलहरू त्यसका हुनुपर्छ । त्यो सम्भव छ कि छैनबाटै सुरु गर्नुपर्छ । त्यतारितको प्लानिङहरू हुनु जरुरी छ । र १९ खर्बको जहाँसम्म चर्चा गरी रहँदा भने म यो छलफल कार्यक्रममा के भन्न चाहन्छु भने यथार्थमा आधारित भएर चल्ने अठोट गरौँ । हुन नसक्ने योजनाहरू हुन सक्दैन भनौँ । तर धान्न सक्ने परिणाम दिन सक्ने गरौँ । १८ को ठाउँमा १५ खर्ब गरौँ जति सकिन्छ त्यति गरौँ । कयौँ कटौती गरौँ हाम्रो रियालिटी त्यही हो त्यसैमा जाऔँ ।’
सभामुख घिमिरेले योजना निर्माण तथा कार्यान्वयनमा तहमा सांसदको भुमिका कस्तो हुने भन्नेबारे बहस र छलफल गर्नुपर्ने बताए । उनले परम्परागत रुपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सृजनशील ढंगले सोच्नु पर्ने औँल्याए ।
उनले भने ‘वर्ल्ड वाइड्ली विकास निर्माणको सन्दर्भमा सांसद भनेको के हो ? सांसद विकास निर्माणमा कसरी जोडिन्छ ? उ नीति निर्माणमा मात्रै जोडिन्छ कि योजना पास गर्ने ठाउँमा जोडिन्छ कि ? योजना लिए जानेमा जोडिन्छ कि ? उसको सिफारिसमा योजनाहरू बन्छ कि ? अथवा यो कहाँबाट टुङ्ग्याउँछ ? हाम्रो जस्तो मुलुकमा कसरी गछौँ ? हाम्रा आफ्नै खालका परम्पराहरू पनि बुझेरै आएका छौँ । तर सांसदको योजना निर्माण र योजना कार्यान्वयनमा भुमिका के हुनुपर्छ भन्ने सन्दर्भमा मलाई लाग्छ हामीले धेरै बहस र छलफल गर्नुपर्छ । धेरै गर्न पर्छ भन्दाखेरि हामी जे परम्परागत रुपमा जाँदै छौँ यो कुराहरूलाई सृजनशील ढंगबाट सोच्न सकेनौँ भने हामीले हाम्रा आवश्यकता पूर्ति गर्ने गरी हाम्रो जे रिसोर्सहरु छ त्यसलाई परिचालन गरेर जान गाह्रो हुन्छ भन्ने कुरा म देख्छु ।’
सभामुख घिमिरेले योजना आयोगले पुरानै ढाँचामा नयाँ र महत्वपूर्ण योजना प्रस्तुत गरेको बताए । उनले योजना आयोगले योजना प्रस्तुत गर्दा नीति निर्माण स्थल संसदमा व्यापक छलफल गर्नुपर्नेको जोड दिए ।
