एनसेल नेपाल सुपर लिगको अवसरमा मैत्रीपूर्ण फुटबल खेल आयोजना
एनसेल एनएसएलको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल नेपाल खेलकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो ।


काठमाडौं । एनसेलले यही चैत्र १६ गते (शनिबार) देखी सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंस्थित लैनचौर खेलमैदानमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको छ ।
तीन टिमको सहभागिता रहेको यो मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ । सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो । यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ का साथ १ गोलको अन्तरले हराएको थियो ।
एनसेल एनएसएलको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल नेपाल खेलकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो । फाइनल खेलमा नेपाल खेलकुद पत्रकार संघको टिमले २-० ले जित हासिल गरेको थियो ।
शनिबारबाट सुरु भई आगामी वैशाख १३ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन तीन मा एनसेल प्रमुख प्रायोजकका रुपमा आवद्ध रहेको छ ।
यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
“एनएसएलसँग एनसेलको यो सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।
एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ ।
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।
एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ । विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो ।
प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्यारहेकामा यस प्रतियोगिताले थप योगदान पुर्याउने विश्वास लिइएको छ ।
