खबर दिनभर : विद्युत् प्राधिकरणबाट कुलमान ‘आउट’, देखी ‘प्रचण्ड’ लाई बधाईसम्म


गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् । शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको उनले स्पष्ट पारे ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने व्यवस्था भएको बताएको उनको सचिवालयले जनाएको छ ।
उनले भने, “शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य एवं भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।” उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य नहुने बताए ।
राष्ट्रपति पौडेलले भने,“इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरङ्कुशताका नाम र अवशेषलाई रुचाएनन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ । यो हजारौँको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।”
राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदलयात्रा गर्दै यस ठाउँमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे । उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको बताए ।
टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरूद्ध भएको थियो । टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पञ्चायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो ।
राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न सम्बद्ध सबैलाई आग्रह गरे ।
राष्ट्रपति पौडेलले सङ्घीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याएको बताए । उनले भने,“यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढङ्गले काम गर्न स्थानीय सरकार अझ बढी क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु ।”
उनले कृषि, जलस्रोत पर्यटन, पूर्वाधार र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउँदै यही भूगोलको सोलु र दूधकोशी नदी क्षेत्रमा निर्माणाधीन साना ठूला जलविद्युत् आयोजनाबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्नेमा आफू विश्वस्त भएको बताए । उनले भने,“हिमाल आरोहण, पदयात्रासहित साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटनको विकास र विस्तार एवं अन्ततः राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान महत्वपूर्ण छ ।”
राष्ट्रपति पौडेलले राजधानी र मधेसबाट सर्वोच्च शिखर सगरमाथाको काख अब धेरै टाढा नभएको देख्दा आफू अत्यन्तै खुसी भएको भन्दै अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहल र आफूले गरेको सङ्घर्षको स्मरण गरे ।
राष्ट्रपति पौडेलले सगरमाथाको काख मात्र नभई डोल्पाको दुनैदेखि पूर्वी पहाडमा समेत सडक पुगेको बताए । उनले भने,“नुन, तेल लिन भारी बोकेर कैयो दिन हिँड्नुपर्ने हिजोको परिस्थितिबाट टाउकोको भारी बिसाउने अवस्था बहुदलीय लोकतन्त्रले ल्याएको हो । लोकतन्त्रले यो परिवर्तनलाई हामीले भुल्न हुँदैन ।”
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै यसअघि पटक-पटक स्पष्टीकरण सोध्दै आएकामा आज पदबाट हटाउने निर्णय गरेको हो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टिकरण दिएका थिए ।
कुलमानलाई हटाइएसंगै हितेन्द्रदेव प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएसंगै हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले बताए ।
आज नै बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठक निर्णय : राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि समिति गठन
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको एक मन्त्रीले बताए ।
समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका ती मन्त्रीले बताए । वर्तमन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैतमा सकिँदैछ ।
अधिकारीको कार्यकाल सकिन लागेसंगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।
चैत्र १९ गतेदेखि आरजु सहितलाई लिएर प्रधानमन्त्री थाइल्याण्ड भ्रमणमा जाने
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । सोमवार बसेको मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरिएको हो ।
प्रधानमन्त्री ओलीले चैत्र १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिने भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उनका अनुसार बैठकमा परराष्ट्रमन्त्री डा। आरजु राणा लगायतका मन्त्रीहरु सहभागी हुने पनि बताए ।
उनले भने, ‘२०८१ चैत्र १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गर्ने । सो भ्रमणमा परराष्ट्रमन्त्री लगायत सहभागी हुने ।’
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले बिमस्टेक छैटौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गरेको हो ।
संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने विषयमा ओली,देउवा र प्रचण्डबीच सहमति
सिंहदरबारमा सोमबार तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ ।
सर्च कमिटी गठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाएका प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेताहरुको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् ।
निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक : देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिई २५ लाख भन्दा बढीलाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन जरुरी रहेको बताए ।
निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको र निर्माण व्यवसायी ऐन, कानुन तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्माण व्यवसायीहरूले झेलिरहेका भुक्तानी, निर्माण सामग्रीहरूमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
व्यावसायिक प्रवर्द्धनका लागि निर्माण व्यवसायीहरू प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको उल्लेख गरे । योजनाहरू तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको जिकिर गरे ।
सभापति देउवाले भने ‘विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा, विश्व अर्थतन्त्रमा नै समस्या आइरहेको अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिई २५ लाख भन्दा बढीलाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक छ । निर्माण व्यवसायी ऐन, कानुन तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यसबाहेक यहाँहरूले झेलिरहनुभएका भुक्तानी, निर्माण सामग्रीहरूमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस समस्याको समाधानका लागि आफ्नो र पार्टीको तर्फबाट हामी लागिरहनेछौँ । व्यावसायिक प्रवर्द्धनका लागि निर्माण व्यवसायीहरू प्रविधिमैत्री हुनु, आजको आवश्यकता पनि हो । योजनाहरू तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु नै आजको मुख्य समस्या हो । यसका लागि निर्माण व्यवसायीहरूको प्रयास मात्र पर्याप्त हुँदैन । सरकारले पनि प्राथमिकता दिनुपर्छ भन्ने मेरो भनाइ छ । नेपाल निर्माण व्यवसायीहरूले नेपालमा मात्र नभएर विदेशमा उत्कृष्ट काम गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन हामीले सुरुङ मार्ग, रेल सेवा, जलविद्युत क्षेत्र लगायतका निर्माणमा पनि विशेष प्राथमिकता दिनुपर्ने टड्कारो आवश्यकता भएको छ ।’
सभापति देउवाले निर्माण व्यवसायीहरू विकासको संवाहक भएको बताए । अर्थतन्त्र गतिशील बनाउन आफ्नो–आफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने बताए ।
राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पाँचौँ दीक्षान्त समारोहमा उहाँले नीतिसँगै राज्यको परिस्थिति पनि त्यसमा दोषी रहेको धारणा राखे ।
मन्त्री पौडेलले नेपालमा चाहिने स्वास्थ्यतर्फका जनशक्ति उत्पादन भइरहेको पनि हरेक वर्ष एक हजार पाँच सयभन्दा बढी विदेशीने समस्या रहेको सुनाउनुभयो । उहाँले अब नीतिगत सुधारमार्फत समस्या समाधान गरिनुपर्ने र त्यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।
न्याम्सका सहकुलपतिसमेत रहनुभएका मन्त्री पौडेलले नेपालमा गुणस्तरीय र विश्वसनीय उत्पादनमा न्याम्सले पु¥याएको प्रशंसा गर्नुभयो । उहाँले न्याम्सले जनशक्ति उत्पादन बढाउँदै गए पनि अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने उपलब्ध हुन नसकेको बताए ।
“उपत्यका बाहिर कतिपय स्वास्थ्य संस्थामा जनशक्ति शून्यताकै स्थिति छ । यहाँ दीक्षित भएका जनशक्ति उपत्यकाभन्दा बाहिर गएर सेवा गर्ने परिस्थिति र अठोट गर्नुपर्छ । सरकारले सङ्गठन एवं व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर चिकित्सक र नर्सको सङ्ख्या बढाउने र बाहिर जाने परिस्थितिलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे आवश्यक योजना बनाइरहेको छ”, मन्त्री पौडेलले भने ।
न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न न्याम्सले योगदान गर्दै आएको बताए । उनले भने,“हामीले ७२ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस संस्थाले विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ, जो उच्चतम गुणस्तरको विशेष स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुन् ।”
समारोहमा २०८० असाररसाउनदेखि २०८१ वैशाखरजेठसम्ममा स्नातकोत्तर तह डिएम, एमडी, एमएस, एमडिएस, एमएन तथा स्नातक तह बिएनएस (क्रिटिकल केयर नर्सिङ), बिएमएस (मिडवाइफ्री साइनसेज), बिएससी एमआइटी र ब्याचलर अफ अप्टोमेट्री र भिजन साइन्समा उत्तीर्ण भएका दुई सयभन्दा बढी विद्यार्थीलाई दीक्षित गरिएको हो ।
शेयर बजारमा हरियाली, बढ्यो नेप्से परिसूचक
गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार सोमबार थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीवन बीमा एक दशमलव ४६ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।
त्यस्तै, लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ४४, निर्जीवन बीमा शून्य दशमलव ६५, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५० प्रतिशतले बढेको छ ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य आज सबैभन्दा धेरै नौ दशमलव ५१ प्रतिशतले बढ्को छ । सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ६९ लाख ७७ हजार ५७८ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता शेयर किनबेच भएको छ ।
सुनको मूल्यमा थप गिरावट, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९सोमबार० सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी र सशस्त्र विजयी
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन् ।
गण्डकीले मधेसलाई प्रतियोगिताको पहिलो सुपर ओभरमा हराएको छ भने सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । गण्डकीले जिते पनि सबै खेलमा ४ अङ्क मात्र बटुल्दै बाहिरिएको छ भने अन्तिम खेल खेलेको लुम्बिनी पराजित हुँदै बाहिरिएको छ ।
जारी प्रतियोगितामा सोमबार पहिलो सुपर ओभर खेलाइएको हो । मधेस प्रदेश र गण्डकी प्रदेशबिचको खेल बराबरीमा टुङ्गिए पछि खेलको छिनोफानो गर्न सुपर ओभर खेलाइएको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा २४७ रनको लक्ष्य लिई मैदान प्रवेश गरेको गण्डकीेले ५० ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन आवश्यक रहे पनि सन्दिप अर्याल रन आउट भए । तर त्यस अघि नै एम्पायर सञ्जय गुरुङ्गले बललाई वाईड दिइसकेकाले गण्डकीले १ अतिरिक्त रन पाउँदै खेल बराबरीमा टुङ्गिएको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गर्दै गण्डकीले २२ रन बनाएको थियो । २३ रनको लक्ष्य मधेसले भेट्टाउन सकेन । उसले सुपर ओभरमा ९ रन मात्र बनाउन सक्यो र अन्ततः गण्डकी प्रदेश सुपर ओभरमा विजयी भयो । यस अघि गण्डकीका लागि अर्जुन कुमालले शतक प्रहार गरे । उनले १४० बलको सामना गर्दै १० चौका र १ छक्काको सहयोगमा १०६ रन बनाए । यसैगरी गण्डकीका लागि दिनेश बुढामगर र सुदिप अर्यालले ३४÷३४ रन र सुभास भण्डारीले १३ रन बनाए ।
बलिङमा मधेशका विशाल पटेलले ४ विकेट लिँदा रुपेश सिंह, रञ्जित कुमार, प्रदिप पासवान र पवन सर्राफले १÷१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले रोहन विक, हरिशङ्कर साह र रुपेश सिंहको अर्धशतकको सहयोगमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । मधेसका लागि रोहन बिकले ९८ बलको सामना गरी ६ चौका र ३ छक्काको सहयोगमा ६४ रन बनाए । हरिशंकर साह र रुपेश सिंहले समान ५१÷५१ रन बनाए भने पवन सर्राफले ३३ रन बनाए ।
बलिङमा गण्डकी प्रदेशका बिपिन खत्री र कमल परियारले समान २/२ विकेट लिँदा अमित गुरुङ र सन्दिप पराजुलीले १÷१ विकेट लिए । प्रतियोगितामा ७ खेल खेलेको मधेस २ मा जित र ५ मा हार गरी ४ अंक हासिल गरेको छ भने ९ खेल खेलिसकेको गण्डकी मात्र २ मा जित हासिल गरी ४ अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
आजै सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । लुम्बिनीले दिएको २२४ रनको लक्ष्य सशस्त्रले ४१।५ ओभरमा ३ विकेटको क्षतिमा हासिल गर्यो । शस्त्रका लागि कप्तान रोहित पौडेल र पुरन विकले अर्धशतक बनाए । पुरन विकले ११२ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा अविजित ७२ रन बनाए भने रोहित पौडेलले ९४ बल खेल्दै ७ चौकाको सहयोगमा ७१ रन जोडे । सशस्त्रका लागि सन्दिप जोराले अविजित २१ रन र लोकेश बमले २१ रन बनाए ।
रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गर्दै लुम्बिनी प्रदेशले कप्तान देव खनाल र मृनाल गुरुङको अर्धशतकको सहयोगमा ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७९ बलको सामना गरी ४ चौकाको सहयोगमा ६३ रन बनाउँदा मुनाल गुरुङले ८७ बलको सामना गरी ४ चौकाको सहयोगमा ५५ रन बनाए । आकाश त्रिपाठीले २२ रन र प्रज्ज्वल थापाले २० रन बनाए ।
लुम्बिनी प्रदेशले ४ खेल जित र ५ मा हारसहित ८ अङ्क ल्याएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसै गरी ८ खेल खेलेको सशस्त्र प्रहरीले थप २ अङ्क जोड्दै फाइनल पुग्ने सम्भावना छ । सशस्त्रले ८ खेलमा ६ मा जितसहित १२ अङ्क ल्याएको छ । अझै एक खेल खेल्न बाँकी छ ।
प्रतियोगितामा हालसम्म सबै ७ वटा खेलमा अविजित रहँदै नेपाल पुलिस क्लब १४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने ८ खेल खेलेको त्रिभुवन आर्मी क्लब ७ खेलमा जित निकाल्दै १४ अङ्कका साथ दोस्रो स्थानमा छ ।
प्रतियोगिताको शीर्ष २ टोलीले यही चैत १६ गते फाइनल खेल्नेछ । मङ्गलबारको खेल रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।
