कुलमानको बर्खास्तीपछि रविको मौनता तोडियो- ‘अन्तिम निर्णय जनताले लिन्छन्’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति चौतर्फी प्रतिक्रिया आइरहेका छन् । सरकारले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमार्फत घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ ।

यस निर्णयपछि सामाजिक सञ्जालमा विरोध चर्किएको छ । यस्तै, पाँच महिनादेखि सामाजिक सञ्जालमा मौन रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत फेसबुकमा देखिएका छन् । सोमबार मध्यराति उनले फेसबुक लाइभमार्फत मौन तर सन्देशमूलक प्रस्तुति दिएका छन् ।

१ मिनेट २२ सेकेन्डको लाइभ भिडिओमा उनले कुनै शब्द उच्चारण गरेका छैनन्, तर अँध्यारो कोठामा बसेर सलाई कोर्दै मैनबत्ती बाल्ने दृश्य देखाइएको छ । भिडिओको क्याप्सनमा उनले लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् ।’

रवि लामिछाने गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सामाजिक सञ्जालबाट टाढा रहेका थिए । अन्तिम पटक उनले अक्टोबर १८ मा ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ शीर्षकमा स्टाटस लेखेका थिए ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा अदालतको आदेशपछि ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत पुस २५ गते थुनामुक्त भए पनि उनले कुनै पोस्ट गरेका थिएनन् । तर कुलमान घिसिङको हटाइएपछि लामिछानेको यो मौनता भंग भएको छ, जसलाई धेरैले राजनीतिक संकेतको रूपमा हेरिरहेका छन् ।

प्रतिक्रिया

One thought on “कुलमानको बर्खास्तीपछि रविको मौनता तोडियो- ‘अन्तिम निर्णय जनताले लिन्छन्’

  1. अँध्यारा रात हरूमा उज्याला बत्ती हरू जगमगlउनै
    आँटिला ब्यकति कुलमान लाई हटाएर आफूतिर दुनो सोझlयौने pM kp oli ले अब जनता बाट ठूलो मूल्य चुकाउन पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *